मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भन्छन भारतविरुद्ध जित्नका लागि खेल्छौ, बराबरीका लागि होइन

रामेछाप खबर संवाददाता

काठमाडौं, १६ भाद्र ।

काठमाडौं : बुधबार आयोजना भएको प्रि म्याच कन्फ्रेन्समा बोल्दै अब्दुल्लाहले भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने बताए ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा जितका लागि खेल्ने बताएका छन । भारत बलियो टिम भएपनि नेपाली समर्थकलाई गर्व दिलाउनका लागि भएपनि जितका लागि खेल्ने नकि बराबरीका लागि खेल्ने बताए ।

बुधबार आयोजना भएको प्रि म्याच कन्फ्रेन्समा बोल्दै अब्दुल्लाहले भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने बताए । साथै उनले आसन्न साफ च्याम्पियनसिपका लागि यो दुई खेल महत्वपुर्ण रहेको धारणा राखे । उनले अहिले नै साफ च्याम्पियनसिप जित्छौ भनेर ठोकुवा गर्न नसक्ने र त्यहाँ पुगेर त्यहाँको परिस्थिती हेर्नुपर्ने बताए ।

साथै उनले साफ खेल्ने देशहरुमा बलियोका आधारमा पुछारबाट दोस्रो स्थानमा रहेको र त्यसले साफ जित्छौ भनेर ठोकुवा गर्नु मुर्खता भएको धारणा राखे ।

जब टिमले राम्रो तयारी गरेको हुन्छ, त्यहि अनुसारको नतिजा आउनेमा विश्वस्त रहेको उनले बताए । यस्तै कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग गर्ने धारणा राखे । उनले टिमका लागि भारतविरुद्ध खेल्न पाउनु निकै राम्रो रहेको र यसले खेलाडीमा आत्मविश्वासपनि थप्ने बताए ।

यता भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग उसकै मैदानमा खेल्नु आफ्नो टिमका लागि चुनौती भएको र नेपाललाई कम नआक्ने बताए । नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारतपनि सजक भएको बताए ।