पीएसजीमा मेसीको डेब्यु, उभिएर सबै दर्शकले गरे सम्मान, स्टेडियम खचाखच

रामेछाप खबर संवाददाता

काठमाडौँ, १४ भदौ ।

काठमाडौं । अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले फ्रेन्च लिग वानमा डेब्यु गरेका छन् । स्पेनिश क्लब बार्सिलोनामा १७ वर्ष बिताएका ३४ वर्षे मेसी पहिलो पटक अर्को क्लबबाट फुटबल खेलेका हुन् ।

उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट डेब्यु गरेका हुन् । मेसीले ३० नम्बरको जर्सी लगाएका थिए । खेलमा उपस्थित सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए । बेन्चबाट खेलको शुरुआत गरेका मेसी ६६ औं मिनेटमा ब्रजिलियन स्ट्राइकर नेयमारको स्थानमा मैदान छिरेका थिए ।

आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हरायो । उक्त खेलमा मेसीले गोल भने गरेनन् । पीएसजी प्रशिक्षक मौरिसयो पोचेटिनोले भने, ‘उनी अझैपनि आफ्नो सर्वश्रेष्ठ फर्मबाट धेरै टाढा छन् । तर उनी राम्रो प्रशिक्षण गरिरहेका छन् । उनी अर्को दुई हप्तामा फिट हुनेछन् ।’

पोचेटिनोले थप भने, ‘सबै दर्शकले उनका लागि हुटिङ्ग गरेको सुनेर राम्रो लाग्यो । हाम्रा समर्थकमात्र हैन, यो लियोले कमाएको कुरा हो ।’ उनले थपे ।

यस्तो छ खेलको परिणाम–

मेसीले डेब्यु गरेको खेलमा दुवै गोल पीएसजीका गोल मेसिन केलियन एम्बाप्पेले गरेका थिए । खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाए ।

६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे। पीएसजीले मेसीलाई भित्र्याएपछि एम्बाप्पेको पीएसजी यात्रा यत्तिमै रोकिने सम्भावना देखिएको छ । स्पेनिश क्लब रियाल मड्रिडले उनलाई अनुबन्धन गर्न कोशिश गरिरहेको छ । मंगलबारसम्म एम्बाप्पे अनुबन्धन गर्नुपर्ने समयसिमा रियललाई उपलब्ध छ ।

अंक तालिका–
स्टार खेलाडीहरु भित्र्याएको पीएसजी जारी लिगमा सत्प्रतिशत नतिजा निकाल्ने एकमात्र टिम हो । पीएसजीको ४ खेलबाट १२ अंक रहेको छ ।

दोस्रो स्थानको एंगर्सको १० तथा तेस्रो स्थानको क्लेमन्ट फुटको ८ अंक छ । त्यस्तै ३ खेलबाट ७ अंकको निसको ७ तथा ३ खेलबाटै ७ अंकको मार्सेको ७ अंक छ ।