एमबाप्पेलाई पीएसजीले किन यही ‘समर’मा बेच्नुपर्छ ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, १३ भदौ ।

काठमाडौं । यो खेलाडी स्थानान्तरणको अन्तिम दिन हुन सक्ने ठूला सम्झौताको एउटा कथा हो । यस सिजन ‘ट्रान्सफर विन्डो’ले कीर्तिमान बनाउन पनि सक्छ । हामीलाई थाहा छ, स्पेनिस महारथी रियाल मड्रिड काइलिन एमबाप्पे भित्र्याउन आतुर छ । तर, रियालको त्यो चाहना पीएसजीको इच्छामा भर पर्छ । पीएसजीले एमबाप्पेलाई बेच्न सहमत हुनुपर्छ ।

यसै पनि एमबाप्पेले आफ्नो बाल्यकालदेखीको चाहना रियालबाट खेल्नु रहेको बताउँदै आएका छन् । फ्रेन्च लिग वानको क्लब पीएसजीसँग एमबाप्पेको सम्झौता सकिन १२ महिनाभन्दा कम समय छ । त्यसपछि उनी ‘फ्री एजेन्ट’ बन्नेछन् । आफूखुसी जुनसुकै क्लबसँग पनि अनुबन्ध हुनसक्छन् ।

एमबाप्पेलाई राम्रो मूल्यमा बेच्ने हो भने पीएसजीसँग एक साताको समय छ । क्लबले बेच्ने चाहना होइन भने सम्झैता नवीकरणका लागि एमबाप्पेलाई राजी गराउनुपर्छ ।

यस्तो परिस्थितमा दुई विकल्प हुन्छन् । खेलाडीसँगको सम्झौता एक वर्षभन्दा कम समय रहेकाले खेलाडीलाई चाहेभन्दा कम रकममै भए पनि बेच्ने । अन्यथा, एक वर्षपछि सित्तैमा पठाउने ।

रियाल र एमबाप्पेबीचको भने अर्को विकल्पमा सम्झौता हुने सम्भावना छ । जसले खेलाडी स्थानान्तरणमा नयाँ आयाम थप्न सक्छ, एमबाप्पेलाई पूरा रकम दिएर अनुबन्ध गर्ने । पीएसजीले एमबाप्पेलाई कम रकममा बेच्ने सम्भावना कम देखिन्छ । एमबाप्पेलाई राख्न पीएसजीलाई कुनै वित्तीय अवरोध छैन । तर, रियाललाई भने एमबाप्पे भित्र्याउन वित्तीय अवरोध हुनसक्छ । कारण, ला लिगाले खेलाडीको तलबमा सीमा तोकिदिएको छ ।

एमबाप्पे रियालको खेलाडी बन्नेमा अब धेरै शंका छैन । प्रश्न यो हो कि उनी यही महिना रियाल जान्छन् वा अर्को सिजन ।

पीएसजीले अहिल्यै बेच्नुपर्छ
पीएसजीले एमबाप्पेलाई बेच्दा विश्वकै एक उत्कृष्ट युवा खेलाडी गुमाउनेछ । तर, अहिले बेच्दा पीएसजीले अविश्वसनीय रकम पाउने सम्भावना छ । त्यो रकम झन्डै २० करोड युरोको हाराहारीमा हुनसक्छ । तर, पीएसजीले विश्वकै एक उत्कृष्ट खेलाडी गुमाउनेछ । सम्भवतः खेलमा सबैभन्दा प्रभावशाली खेलाडीलाई गुमाउनेछ । यति हुँदा पनि जारी ‘ट्रान्सफर विन्डो’ सकिनुअघि रियालसँग एमबाप्पेको सम्झौता भयो भने जित पीएसजीकै हुनेछ ।

पीएसजीले सम्झौता सकिन लागेको खेलाडीबाट अहिलेसम्मकै उच्च स्थानान्तरण रकममध्येको रकम पाउन सक्छ । यो कुरा फ्रान्सेली क्लबले राम्रोसँग बुझेको छ । पीएसजीले यस ‘समर’मा यसै पनि ट्रान्सफर बजार तताइसकेको छ, लियोनल मेसी, सर्जियो रामोस, आच्रफ हाकिमी, जर्जिन्हो विजनाल्डम, जियानलुइगी डोनारुमा जस्ता खेलाडीलाई भित्र्याएर ।

रियाल मड्रिड थाकेर एमबाप्पेलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्ने मनस्थितिमा पुग्नुअघि नै पीएसजीले सोच्नु जरुरी छ ।
बाह्रखरी