कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ साउन ।

काठमाण्डौ – अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने भएका छन् । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई सय डलर दिन सबै राज्यहरूलाई आह्वान गर्नु भएको हो । यो रकम रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि बढिरहेको भन्दै राष्ट्रपति बाइडेनले खोप लगाउन पनि आह्वान गर्नु भएको छ । बाइडेनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ निर्देशन जारी गर्नु भएको छ ।

निर्देशिका अनुसार अब कर्मचारीले खोपको दुई मात्रा लगाउनु पर्ने छ भने भौतिक दूरी पालना र मास्क अनिवार्य लगाउनु पर्नेछ । डेल्टा भेरियन्टको फैलिँदै गएपछि अमेरिकामा फेरि मास्कको प्रयोग अनिवार्य गर्न भनिएको छ ।

केही दिनअघि राष्ट्रपति बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको भन्दै स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

विश्वमा एकै दिन थपिए साढे ६ लाख कोरोना संक्रमित

विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ३१ हजार १००, फ्रान्समा २५ हजार २००, रसियामा २३ हजार ३००, टर्कीमा २२ हजार १०० र अर्जेन्टिनामा १४ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा १० हजार १४० जनाको संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ४२ लाख १३ हजार नजिक पुगेको छ। गत २४ घण्टामा ब्राजिलमा १ हजार ३५४, रसियामा ८००, भारतमा ५४९, अमेरिकामा ३७१, अर्जेन्टिनामा २९१, वेलायतमा ८५ जनाको मृत्यु भएको भएको छ।

कुल १९ करोड ७३ लाख संक्रमितमध्ये १७ करोड ८४ लाखभन्दा बढी निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख रहेको छ।