दु : खद खबर नहरमा डुबेर दुई जना बालकको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ साउन ।

चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। बुधबार दिउँसो भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्थानीय चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए। उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेर बेपत्ता भएका थिए।

प्रहरीले खोजी गर्ने क्रममा डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनालाई उद्धार गरिएको थियो। तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा दुवैलाई अस्पतालले मृत घोषणा गरेको थियो।

एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ

चितवन । चितवनमा एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् । गएको मंगलबार राति १२ः३७ बजेको समयमा चितवन को रत्ननगर नगरपालिका –१ स्थित माछापुच्छ्रे बैंक लिमिटेड टाँडी शाखाको एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

एटिएम बुथ तोडफोड गरी फरार रहेका रत्ननगर–२, आदर्शनगर बस्ने पुष्प भनिने भरत परियारलाई बैंकमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

परियारले तोडफोड गर्न प्रयोग गरेको फलामको हथौडासहित बुधबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।