आज साउने संक्रान्ति, लुतो फाल्ने दिन, के छ धार्मिक मान्यता ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, १ साउन ।

आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति । धार्मिक, संस्कृति र प्राकृतिक रूपमा यो दिनको विशेष महत्त्व रहेको छ । नेपालमा मुख्य रूपमा मनाउने गरिएको ४ सङ्क्रान्तिहरू मध्ये आज परेको साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ । संक्रान्तिहरुकै कुरा गर्दा वैशाख, कार्तिक र माघ महिनाको १ गतेका संक्रान्तिहरुलाई पनि महत्त्वपूर्ण मानिन्छ । तर विशेष रूपमा माघे सङ्क्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष मानिने गरेको छ ।

सङ्क्रान्ति चाडलाई विशेषतः सूर्यसँग सम्बन्धित मानिन्छ । सूर्यसँग सम्बन्धित भए पनि योसँग जोडिएका विभिन्न धार्मिक पक्षले गर्दा यसलाई झनैं महत्त्वपूर्ण बनाउने गरेको छ । साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति, यो दिन देखि सूर्य दक्षिणायन हुने गर्छन् । सूर्य उत्तरायण हुने बेलामा माघे सङ्क्रान्ति पर्ने गर्छ । सूर्य दक्षिणायनमा जाने बेलामा पहिलो महिना साउन पर्छ । यो महिनामा विशेष रूपमा भगवान् शिवसँग सम्बन्धित धार्मिक कार्यहरू गरिन्छ । यो महिनामा शिवजीका महिमाहरू उजागर गर्ने महिना पनि मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं प्रा.डा.देवमणी भट्टराई भन्नुहुन्छ– साउने सङ्क्रान्तिको दिनमा लुतो फ्याँक्ने पनि गरिन्छ । कर्कट सङ्क्रान्तिमा झुन्डा नाम गरेको राक्षसको पूजा गरेर घरमा भय निवारण गर्न त्यस दिन कण्डारक (राती हिँड्ने) को पूजा गरेर लुतो फ्याँक्ने चलन रहेको छ ।

सूर्य दक्षिणायनमा आएपछि प्रकृतिमा आएको परिवर्तनलाई हाम्रो शरीरले एकै पटक आत्मसात् गर्न सक्दैन । मौसम बर्षात् भएको कारण मानिसहरूको सम्पर्क पानी, हिलोसँग बढी हुन्छ । यसले शरीरमा विभिन्न किसिमका घाउ खटिराहरू आउने गर्छ । जसलाई चलन चल्तीको भाषामा हिलो उर्छेको पनि भनिन्छ । त्यसको निवारणलाई पनि लुतो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्ने दिनको साँझ कुरिलो र तीतेपातीमा आगो बालेर अगुल्टोले लुतो लैजा भनी चार दिशामा फ्याँक्ने र नाङ्लो ठटाएर घरको मूल ढोका बन्द गर्ने गरिन्छ ।

सूर्य दक्षिणायनमा प्रवेश गरेपछि यसको प्रभाव वनस्पतिहरूमा बढी पर्छ । यसको प्रभावले वनस्पतिहरूमा फल लाग्ने गर्छ । यसरी लागेको फलको पहिलो स्वाद भगवानलाई खुवाएर न्वागी मनाउने चलन रहेको छ ।

दक्षिणायनमा देउताहरू आराम गर्ने त्यति सक्रिय नहुने मानिन्छ । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन थाल्छ । यो आयनमा नाग पञ्चमी, जनै पूर्णिमा, हरितालिका तीज, इन्द्रजात्रा, गाई जात्रा, कुशे औँसी देखि स्वस्थानी पूजासम्मका चाडपर्वहरू मनाइने गरिन्छ । सूर्य उत्तरायण माघे सङ्क्रान्ति पछि प्रवेश गरेपछि देउताहरू उठ्ने धार्मिक विश्वास मानिन्छ । यो आयनमा प्रवेश गरेपछि धार्मिक अनुष्ठानहरू व्रतका प्रतिष्ठा, पुराण श्रवण, देउताहरूको प्रतिष्ठाहरूको कार्य सम्पन्न गरिन्छ ।

देवादी देव महादेवलाई जल तत्त्वको रूपमा लिइन्छ । छिट्टै खुसी हुने भगवान् भएको कारण साउन महिनामा भगवान् शंकरलाई विशेष रूपमा मान्ने गरेका हुन्छन् । शिवको वरदान दिने क्षमता बढी भएको कारणले दक्षिणायनको सुरुको महिना देखिनै उनको आराधना थालिन्छ । यो महिनाको सोमवार विशेष रूपमा हरियो रङ्गका वस्त्र, चुरा र मेहन्दी लगाएर व्रत बसी भगवान् शिवजीको आराधना गर्नाले आफूले चिताएको मनोकामना पुरा हुने विश्वास रहेको छ ।