गठबन्धनका दलहरुबीच मन्त्रालयबारे सहमति ! कुन पार्टीलाई कुन मन्त्रालय ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ असार ।

काठमाडौँ । सोमबारको सर्वोच्चको परमादेशसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । पाँचौंपटक प्रधानमन्त्री बन्न लागेको देउवाले आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरेका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवाले आजै नै साँझ केही मन्त्रीहरुसहित शपथ लिने तयारी गरेका हन् । गठबन्धन सरकारमा नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह तथा जनमोर्चा पनि सहभागी हुनेछ । गठबन्धनमा रहेको नेकपा एमालेको माधवकुमार नेपाल समूह भने बाहिरिएको छ । यो समूह पार्टी एकतामा लाग्ने भन्दै बाहिरिएको हो ।

सोमबार नै बसेको गठबन्धनको बैठकले मन्त्रालय भागवण्डाको टुंगो लगभग लागाइसकेको स्रोतको भनाई छ । जसअनुसार सरकारको नेतृत्व गरेको कांग्रेसले अर्थ, स्वास्थ्य लिनेछ, त्यस्तै, माओवादीले गृह र जसपाले परराष्ट्र मन्त्रालय पाएको स्रोतको भनाई छ ।

कांग्रसले अर्थको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँणलाई दिने तयारी गरेको कांग्रेस उच्च स्रोतले बताएको छ । स्वास्थ्यमा गगन थापालाई ल्याउने तयारी छ । माओवादीले गृह मन्त्रालयमा जनार्दन शर्मालाई पठाउने चर्चा छ । शर्मा पनि गृहमन्त्री भइसकेका व्यक्ति हुन् । परराष्ट्र जसपाको भागमा परेको छ। उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्ने देखिएको छ ।