ताजिकिस्तानमा शक्तिशाली भूकम्प, पूर्ण विवरण भने आउन बाँकी

रामेछाप खबर संवाददाता

काठमाडौँ, २६ असार ।

दुशान्वे । ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शनिबार शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँचजनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार बिहान ७ः१४ बजे ५.९ म्याग्निच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु भएको ठाउँ दुशान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् । भूकम्पले पाँचजनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरु घाइते भएको हुन सक्ने बताइएको छ ।

भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने संकलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । रासस/एएनआई

खुशीको खवर : अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घाेषणा

अमेरिकाले आउँदा केही दिनमा १५ लाख भन्दा बढी नेपालीलाइ पुग्ने गरी कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल(अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।’

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नेपालका लागि १५ लाख र भुटानका लागि ५ लाख मात्रा खोप पठाउन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि मात्रै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोपमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।

संक्रमणविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ । नेपालमा हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्युटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

कोभ्याक्सले कुल जनसख्ंयाको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । तर, प्रतिबद्धताअनुरूप समानुपातिक तवरबाट खोप वितरण नभएको भन्दै आलोचना हुँदै आएको छ ।

नेपालमा प्राप्त हुने जोन्सन एन्ड जोनसनको १५ लाख मात्रा कुन समूहलाई दिने निक्र्योल नभए पनि खोप कार्ययोजनामा तय गरिएको खोप प्राथमिकता समूहका आधारमा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी छ । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरेको थियो । तर, सो पत्रको जवाफ अहिलेसम्म आएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।