किसानलाई गोलासहितका ४० वटा मौरीघार वितरण

रामेछाप खबर संवाददाता

लमजुङ,२० असार ।

लमजुङ : पूर्वी लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई मौरीसहितको ४० वटा घार वितरण गरेको छ। दोर्दी गाउँपालिका कृषि शाखाले किसानलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गर्ने उद्देश्यले दोर्दी ४ नौथर वडाभित्रका किसानको मागअनुसार ७५ प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो।

गाउँपालिकाले नौथर कृषक समूहमार्फत दोर्दी ४ का साबिक ९ वटै वडा समेटिने गरी आधुनिक मौरीसहितको घार वितरण गरेको जनाएको छ। नौथर कृषक समूहले वडाभित्रका एक सय घर परिवारलाई प्रतिघर एक मौरी घार वितरण गरेको समूहका सचिव दिप्सन गुरुङले बताए।

मौरीसहितको घार वितरणका लागि दोर्दी गाउँपालिकाले आर्थिक वर्ष ०७७-०७८ मा बजेट उपलव्ध गराएको सचिव गुरुङले बताए। गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानी रहेको सो मौरीसहितको घारको मूल्य नौ हजार ५ सय रुपैयाँ रहेको नौथर कृषक समूहका अध्यक्ष लिलबहादुर गुरुङले बताए।

समूहले हालसम्म ४० वटा मौरीको घार वितरण गरेको जनाएको छ। बाँकी घार पनि वितरणको तयारीमा रहेको अध्यक्ष गुरुङको भनाइ छ।

कोरोना भाइरस संक्रमण जोखिम तथा जारी निषेधाज्ञालाई ध्यानमा राखी कृषकलाई गोलासहितको मौरी घार वितरण कार्यक्रम सञ्चालन गरेको नौथर कृषक समुहले जनाएको छ। जिल्लामा बर्सेनि मौरी उत्पादनमा वृद्धि हुँदै गएको पाइएको छ।

जिल्लामा स्थानीयस्तर, पकेट क्षेत्र, मौरी ब्लक जस्ता कार्यक्रमहरूमार्फत मौरीपालन गर्दै आएसँगै बर्सेनि मौरी तथा मह उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।