आईसीयूमा नर्सको व्यथा : सबैको भगवान बन्न नसकिँदोरहेछ !

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ जेठ ।

केही दिन अगाडि वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत २७ वर्षीय युवकको अक्सिजन लेभल घट्दै गइरहेको थियो । आईसीयूमा खटिएका डाक्टर, नर्स उनको उपचारमा व्यस्त थिए । बिरामीकी श्रीमती १९ वर्षकी र छोरी ६ महिनाकी रहिछन् । यो सुन्दा आईसीयूमा कार्यरत नर्स मुना पोखरेलको मन विचलित भयो ।

हुन त आईसीयूमा सबै बिरामी निकै सिकिस्त अवस्थाकै हुन्छन् । तर, ती युवाको उमेर र उनको बच्चा पनि छ भन्ने थाहा पाउँदा भने सबैको मन आत्तियो । सबैले झै मुनाले पनि खुब प्रार्थना गरिन् उनका लागि । दुई दिनपछि ती युवकको अक्सिजन लेभल एक्कासी बढेर ९० को लेभलमा आइपुग्यो । सबै खुसी भए ।

मुना भन्छिन्, ‘सुनिन्छ नि कहिले काहिँ चमत्कार हुन्छ भनेर, हो त्यही भइरहेको थियो । आईसीयूमा राखिएका बिरामी, त्यसमा पनि कोभिडका बिरामीलाई निको बनाएर पठाउन पाउँदाको खुसी सायदै अनुमान गर्न सकिन्छ । हामी त्यही दिनको प्रतिक्षामा थियौं ।’

तर, त्यो खुसी धेरैदिन टिक्न सकेन । मुना सुनाउँछिन्, ‘तीन दिनपछि एकाएक उहाँको अक्सिजन पुनः घट्न थाल्यो । सबै उपाय लगाउँदा पनि उहाँलाई बचाउन सकिएन ।’

उनी अगाडि भन्छिन्, ‘आश मरेको बिरामी फेरि आशा लिएर आयो र एकाएक गयो । त्यो चक्र र उनको अहिले पनि खुब याद आउँछ । सायद म ती दाइको मृत्युलाई भुल्न सक्दिनँ होला । त्यस्ता भर्खरका युवाहरुलाई आईसीयूबाट प्लास्टिकमा बेरेर पठाउनुपर्दा साह्रै रुन मन लाग्छ । तर, हामीसँग त्यहाँ रुने र दुःखमनाउ गर्ने समय नै कहाँ हुन्छ र ?’

सबैका लागि भगवान बन्न नसकिने रहेछ

गत वर्ष जब चीन हुँदै विश्व चहारिरहेको कोरोना महामारी नेपालमा पनि प्रबेश गर्यो । त्यहीबेला देखिनै कोरोनाका बिरामीको उपचारमा खटिएकी थिइन् मुना । पहिलो लहरको महामारीमा सामान्य नागरिक मात्रै होइन डाक्टर, नर्स, अस्पतालका कर्मचारी सबै नै निकै त्रसित थिए । तर पनि अन्य मुलुकको अवस्था र उनीहरुले अवलम्बन गरेको सुरक्षा नीतिलाई अवलम्बन गर्दै बिरामीको उपचारमा खटिए मुनाजस्तै लाखौं स्वास्थ्यकर्मीहरु ।

बिरामीका लागि डाक्टर, नर्स भनेका भगवानका अर्को रुप हुन् । नयाँ जीवन दिनेलाई भगवानको रुपमा हेर्नु उनीहरुको नजर हो । यसो भन्दैमा डाक्टर नर्स भगवान हुन सक्दैनन्, मात्र उनीहरुले आफ्नो कर्म गरिरहेका हुन्छन् । फेरि सबैका लागि उनीहरु भगवान हुन पनि त सक्दैन रहेछन् ।

मुना भन्छिन्, ‘जो निको भएर घर फर्कनुहुन्छ, उहाँहरुले भगवान जसरी व्यवहार देखाएर जानुहुन्छ । बृद्ध बा आमाले आशीर्वाद दिएर जानुहुन्छ । तर, जसलाई बचाउन सकिँदैन, उहाँका आफन्तहरुले झर्केर निकै नमिठो व्यवहार देखाएर जानुहुन्छ । उहाँहरु ठान्नुहुन्छ कि हामीले नै मारेका हौं । हामी बिरामी मार्न होइन, बचाउन यहाँ छौं । त्यो सबैले बुझ्दैनन् । तर, यो नियति सामान्य लाग्छ अहिले ।’

मुनाले यस्ता नियति भोग्न थालेको पनि ६ वर्ष बितिसकेको छ । हुन त कोभिड महामारीले नर्सिङ पेशाप्रतिको दृष्टिकोणमा भने केही परिवर्तन ल्याइदिएको छ । मुना भन्छिन्, ‘बुझ्नेहरुले त सधैं नै बुझिहाल्नुहुन्छ । तर, नबुझ्नेका लागि त हामी साह्रै खराब मानिसमा पर्छौं, जतिसुकै राम्रो गरे पनि ।’

उनी अगाडि भन्छिन्, ‘सबै बिरामी एकै हुन् हाम्रा लागि । हिजो कोभिड नहुँदा पनि बिरामी हेर्ने काम गर्यौं । आज कोभिड हुँदा पनि बिरामी हेरिरहेका छौं । हामी आफ्नो कर्म साथसाथै धर्म निभाइरहेका छौं ।’

महामारीमा नर्सको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । महामारीबाट संक्रमितलाई आफ्नै परिवारले नजिकबाट स्नेह दिन नसकेको अवस्थामा नर्स तथा डाक्टरले हात समाएर, समुसुम्याएर उपचार गरिरहेका छन् । यसले बिरामीको शरीरमा प्रेम अनि स्नेह सम्प्रेषण हुनुका साथै सकारात्मक उर्जा प्रदान गर्ने र बिरामीलाई निको हुन सहयोग पुग्ने मनोवैज्ञानिकहरुले तर्क गर्दै आइरहेका हुन्छन् । मुनाको अनुभवले पनि यही भन्छ, नजिक गएर सुमसुम्याएर मायाले बोलाउँदा अनि खाना औषधि खुवाउँदा बिरामीको अनुहारमा अर्कै चमक देखिन्छ ।

बिरामीको मृत्युमा दुःखमनाउ गर्ने समय छैन

वीर अस्पतालको आईसीयुमा हरेक दिनजसो बिरामीको मृत्यु हुन्छ । मुना आफ्नो ड्युटीको समयमा सँधै नै एउटा, दुईटा जीवनलाई प्लास्टिकमा बेरेर निकाल्नुपर्ने बाध्यता गला अवरुद्ध पार्दै सुनाउँछिन् । कोभिड महामारी नहुँदा कसैको मृत्यु भयो भने बिरामीका आफन्तसँगै दुःख साट्ने मुनालगायतका वीरका डाक्टर नर्सलाई अहिले त्यो दुःख साट्ने फुर्सद छैन ।

मुना भन्छिन्, ‘भर्खरै गफ गरेर, हाँसेर, जिस्किरहेको हुन्छ, खाना खुवाएर, औषधि दिएर सुताएर आएको बिरामीको एकैछिनमा अक्सिजन पुरै घटेर स्वास लिन छाड्छ । आफै सम्झनुस् न त्यो बेला कस्तो होला, जति गर्दा पनि हुँदैन । अहिले त अवस्था यस्तो छ कि हामीसँग दुःख मनाउ गर्ने समय पनि हुँदैन ।’

जब मृत्युले जित्छ, तब शवलाई जतिसक्दो छिटो र्याप गरेर बाहिर निकाल्नुपर्ने अवस्था भएको मुना बताउँछिन् । उनी भन्छिन्, बिरामीको मृत्यु भयो भने फटाफट शव प्याक गरेर निकाल्न पर्छ ता कि त्यो बेडमा (भेन्टिलेटर)मा बाहिर कुरेर बसेको अर्को बिरामीको उपचार छिटो गर्न सकियोस्। मृत्युमा दुःख मनाउ गर्दासम्म त अर्को बिरामीको ज्यान बच्ने सम्भावना हुन्छ नि ।’

मुना अगाडि भन्छिन्, ‘गम्भीर अवस्थाका बिरामी, जो हात समाएर मलाई बनाइदिनुस् सिस्टर भन्नुहुन्छ । हामीहरुलाई थाहा हुन्छ कि उहाँको अवस्था कस्तो हो भनेर । तर, हामीले बारम्बार झुट बोल्नुपर्छ, अब तपाई ठीक हुनुहुन्छ भनेर । हामीले त्यति भन्दा उहाँहरुमा बाँच्ने आशा पलाउँछ, आत्मबल बढेर आउँछ । त्यसैले पनि झुटो बोल्नुपर्छ । थाहा छ, उहाँलाई जे पनि हुनसक्छ । तर, पनि तपाईलाई निको हुन्छ भनेर आश्वासन दिनुपर्दा मुटु फुलेर आउँछ । कस्तो ठाउँमा काम गर्नुपर्यो भनेर डिप्रेस भइन्छ ।’

आईसीयू भन्नेबित्तिकै आफैंमा अलि संवेदनशील ठाउँ भयो । त्यसमा पनि अहिलेको कोभिड महामारीका बिरामीको चापले अस्पतालहरूका आईसीयू भरीभराउ छन् । वीरको मात्र होइन, नेपालभरका आईसीयूमा धेरै युवा अवस्थाका बिरामीको चाप छ । ३० देखि ५० वर्ष उमेरका धेरैको ज्यान गइसकेको छ ।

मुना वीरमा मात्रै दिनमा एकदेखि दुईजना युवाको मृत्यु भइरहेको बताउँछिन् । कहिलेकाहीँ त तीन÷चारजनाको पनि मृत्यु हुन्छ । त्यसमा धेरैजसो युवा अवस्थाका बिरामी हुन्छन् ।

चुनौतीको रुपमा पीपीई

जब कोभिडका बिरामी बढ्न थाले, डाक्टर नर्सलगायत स्वास्थ्यकर्मीका लागि पीपीई ठूलो चुनौतीको रुपमा खडा भयो । १०–१२ घण्टासम्म पीपीई लगाएर काम गर्दा निकै सकस थियो । तर अहिले बानी परिसकेको छ र ड्युटीको समय पनि घटाएर अस्पतालहरुले व्यवस्था गरिरहेको छ ।

पहिला कोभिड वार्डमा डाक्टर नर्स नै जाँदैनन् भन्ने गुनासो आउने गर्दथ्यो । मुनाजस्ता स्वास्थ्यकर्मी महामारीमा ज्यानको बाजी राखेर बिरामीको सेवामा हुँदा आएका यस्ता हल्लाले सबै स्वास्थ्यकर्मी एकै हुन कि भन्ने भान हुनु स्वभाविक थियो । वास्तविकता त्यस्तो थिएन । कसैले गरेको गल्तीको अपजस सिंगो चिकित्सा क्षेत्रलाई दिन नमिल्ने मुना बताउँछिन् ।

उनी सुनाउँछिन्, ‘हामी जब ड्यूटीमा छिर्छौँ, तब पीपीई सेटमा हुन्छौं । संक्रमितको उपचार गर्दा हामी आफैंलाई संक्रमण भयो भने कसरी उहाँहरुको उपचार गर्ने ? त्यही चिन्ता हुन्छ । पीपीई लगाउँदा जीउ पुरै बाफिन्छ । डबल मास्क, अझ मास्कलाई यताउता नसरोस् र स्वास लिँँदाको बाफ बाहिर नआओस् भनेर तलमाथि टेपले टाँस्ने गर्छौं । त्यति गर्दा पनि भाइजर (फेस सिल्ड) मा बाफले बाहिर हेर्न समस्या हुन्छ । त्यसले बाहिर हेर्दा धमिलो हुन्छ ।

पहिला पहिला त धमिलो भएर बिरामीको भेन नभेटेर हैरानी हुन्थ्यो । स्यास्या भएर उकुसमुकुस हुन्थ्यो । थ्री लेयर भएको पञ्जा लगाउनु पर्दा हात चलाउन समस्या हुन्थ्यो । तर, अहिले बल्ल बानी परेको छ । आफ्नो ड्युटी समयमा बिरामी सँगै हुन्छौं, ड्युटी समयमा खाना, पानी केही खाँदैनौँ । बिरामीहरु हामी नजिक नै बसिरहे हुन्थ्यो जस्तो गर्नुहुन्छ । वरिपरि हुँदा उहाँहरुमा अनि आत्मबल बढेर आउँछ । तर, कसरी त्यस्ता कुरा आउँछन् बुझ्न सकिन्न ।’

आईसीयू नर्स मुनालाई आजभोलि पीपीई लगाएर काम गर्ने बानी परिसकेको छ । शारीरिक र मानसिक दुवै तवरले आफूलाई बलियो बनाएर कोभिड संक्रमितको सेवामा खटिइरहेको मुना बताउँछिन् । ‘आफू संक्रमित हुन्छु कि भन्ने भय पनि छैन अहिले त । आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी छ र संक्रमण भएमा के गर्ने भन्ने थाहा भएपछि आत्मबल पनि बढ्दो रहेछ,’ मुना भन्छिन् ।

मुनाका अनुसार डाक्टर नर्सहरु ड्युटीको समय ट्वाइलेट जानुपर्छ भनेर पानी पनि नखाई बस्छन् । ड्युटी जानु अगाडि जति रुच्छ, खाना खायो, त्यसपछि एकैचोटि बाहिर निस्किएर मात्रै खान्छन् । बिहान त एक कप चियाको भरमा ६/७ घण्टा काम गर्ने गरेको मुना बताउँछिन् ।

उनका अनुसार ड्युटीको समय पिशाव च्यापेर बस्ने, पानी नपिउने गर्दा धेरै स्वास्थ्यकर्मीहरुलाई अहिले यूटीआई (यूरीन इन्फेक्सन)को समस्या देखिएको छ । स्वास्थ्यकर्मीहरुलाई कोभिडसँग लड्दै गर्दा अन्य रोगले सँगसँगै आक्रमण गरिरहेको मुना सुनाउँछिन् ।

अझ महिनावारीको समयमा त पीपीई लगाएर काम गर्दा धेरै नै समस्या देखिएको छ । कति त धेरै पेट दुखेर काम गर्दागर्दै बेहोस हुने गरेको मुना बताउँछिन् । बिरामीको सेवा गर्दा आफ्नो पीडा महसुस नै नहुने उनको अनुभव छ ।

उनी भन्छिन्, ‘महिनावारी भएको हुन्छ । आईसीयू छिरेपछि बाहिर निस्किन पाइँदैन । त्यसैले छिर्नु अगाडि प्याड फेर्ने र अलि लामो समय टिक्ने प्याडको प्रयोग गर्छौ तर पनि धेरै रगत बग्दा बाहिरसम्म कपडा भिजिसकेको हुने रहेछ, तर आफूलाई पत्तो नै हुँदैन । आईसीयूमा सेकेन्ड सेकेन्ड बिरामीको निगरानी गरिरहनु पर्छ अन्त सोच्ने त फुर्सद नै हुँदैन । बाहिर निस्किसकेपछि पीपीई फेर्दा पो थाहा हुन्छ, आफ्नो त लुगासमेत रगतले भिजिसकेको रहेछ भनेर । शरीर गलेर फतक्क भएको हुन्छ । प्यासले घाँटी यति सुख्खा भएको हुन्छ कि थुक निल्न पनि समय लाग्छ । भोकले पेट कराएको बल्ल थाहा हुन्छ । त्यतिबेला संसारबाट यो कोभिड छिटो जाओस् भनेर प्रार्थना गर्न मन लाग्छ ।’

आजभोलि स्वास्थ्यकर्मीहरु डाइपर लगाएर काम गर्छन् । मुना कहिलेकाहीँ त कस्तो काम गरिएछ भन्ने लागे पनि बिरामीको अनुहारमा मुस्कान देख्दा सबै भुल्ने गरेको बताउँछिन् । स्वास्थ्यकर्मीहरूमा संक्रमणको जोखिम पनि उत्तिकै छ । प्रायः स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । कतिको ज्यान नै गइसकेको छ । तर पनि आफ्नो कामप्रति दृढ सुनिइन् मुना ।

हामीलाई आश्वासन नदिइयोस्

मुनाजस्ता कोभिडको जोखिममा दिनरात नभनी खट्ने स्वास्थ्यकर्मीलाई सरकारले छल गरेको छ । गत वर्षको महामारीमा भत्ताको व्यवस्था गर्ने भनेर उचालेको सरकारले अन्ततः भत्ता त परको कुरा कदरसम्म पनि गरेन ।

महामारी नियन्त्रणमा आएसँगै सरकारले उनीहरुको त्यो दुःखलाई सामान्यीकरण गरिदियो । सरकारले अहिले आएको दोस्रो लहरको महामारीमा पनि स्वास्थ्यकर्मीलाई यति र उति भत्ताको व्यवस्था, बीमालगायतका सुविधा दिने भनेर भाषण त ठोकिसकेको छ, तर त्यो आउने नआउने कुनै भर छैन ।

मुना भन्छिन्, ‘सरकारले भत्ता दिन्छ वा अस्पतालले केही सहुलियत दिन्छ भनेर हामीले काम गरेको होइन । यो हाम्रो पेशा हो, पेशामा आइपर्ने हरेक चुनौतीको सामना गर्न हामी तयार छौं । तर, हामीलाई आश्वासन नदिइयोस् । आश्वासनले हामीलाई कमजोर बनाउँछ । हामी यो परिस्थितिमा कमजोर होइन, बलियो बन्न चाहन्छौं ।’ साभार : टुना भट्ट / राताेपाटी