नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

रामेछाप खबर संवाददाता

एजेन्सी, २९ वैशाख ।

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्नका लागि स्वास्थ निर्देशन जारी गरेको छ । अमेरिकाले कोरोना संक्रमण जोखिमका कारण भ्रमणमा रोक लगाएको हो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडिसीले कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमणमा रोक लगाएको हो । नेपालको पूरै भूभागमा अमेरिकाले रोक लगाएको हो ।

सिडिसीले चौथो तहको स्वास्थ्य निर्देशिका जारी गर्दै नेपालमा उच्च तहको कोरोना संक्रमण रहेकाले यात्रामा प्रतिबन्ध लगाएको हो । नेपालस्थित अमेरिकी दूतावासले एक सूचनामार्फत यस्तो जानकारी गराएको छ ।

कोरोना महामारीका कारण नेपाल सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय उडान रद्द गरेको अवस्थामा अमेरिकाले नेपालमा यात्रा प्रतिबन्ध लगाएको हो । सूचनामा यात्रा सम्बन्धी थप जानकारीका लागि स्टेट डिपार्टमेन्टको वेबसाइट हेर्न भनिएको छ ।

भारतमा दुई वर्षमाथिका बालबालिकामा कोभिडको खोप परीक्षण गर्न अनुमति

नयाँदिल्ली । भारतमा २ देखि १८ वर्षसम्मको उमेर समूहमा भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण हुने भएको छ । मंगलबार यहाँको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले २ वर्षमाथिका व्यक्तिहरुमा खोप परीक्षण गर्न अनुमति दिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । यसअघि क्यानडा र अमेरिकाले यो उमेर समूहमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरेको थियो । एम्स दिल्ली, एम्स पटना र मेडिट्रिना इन्स्टिच्युट अफ साइन्सेजका ५२५ जनामा खोप परीक्षण गरिने समाचारमा उल्लेख छ ।

सीडीएससीओका विज्ञहरुले तेस्रो चरणको परीक्षणको अनुमति लिनुअघि डेटा एण्ड सेफ्टी मनिटरिङ (डीएसएम)लाई दोस्रो चरणको परीक्षणको नतिजा बुझाउन पनि निर्देशन दिएको छ । यसअघि गएको फेब्रुअरी २४ मा भारत बायोटेकले परीक्षणका लागि प्रस्ताव राखेपछि उसलाई क्लिनिकल ट्रायलका लागि तयार गरिएको मापदण्ड पेश गर्न निर्देशन दिइएको थियो ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्को सहयोगमा भारत बायोटेकले भारतमा नै खोप उत्पादन गरिरहेको छ । यो खोप अहिले भारतमा १८ वर्ष माथिका व्यक्तिहरुलाई दिइँदै छ । बालबालिकाहरुका लागि कोरोना खोप प्रयोगको अनुमति दिने क्यानडा पहिलो राष्ट्र हो । क्यानडा र अमेरिकामा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति दिइएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।