मध्य भोटेकोशीको आइपीओ खुला, यी ब्यक्तिहरुले मात्र आवेदन दिन पाउने छन्

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ बैशाख ।

काठमााडौं : मध्य भोटेकोशी जलविद्युत परियोजनाको आइपीओ आज वैशाख २१ गतेदेखि बिक्री खुला भएको छ । यसमा आयोजना प्रभावित स्थानीयले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ३०% ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ ।

यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याईएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदकले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमा मध्ये भोटेकोशीले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । यता, कम्पनीले केही समयअघि स्थानीय र सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति (अण्डरराइटिङ) समेत गरिसकेको छ । अर्थात्, कुनै कारण यो सेयर बिक्री नभएमा नागरिक लगानी कोषले व्यहोर्नुपर्नेछ ।

कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई सेयर बिक्री खुला गरेको थियो । यसरी बिक्री गरिएको सेयर बाँडफाँट समेत भइसकेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ लाख १७ हजार कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गरिएको हो ।

मध्ये भोटेकोशी जलविद्युत सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्ये भोटेकोशी आयेजना निर्माण गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ । यस परियोजनाको प्रतिमेगावट लागत १६ करोड ७० लाख रहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।