को थिए सबैभन्दा कम इमान्दार अमेरिकी राष्ट्रपति ?

रामेछाप खबर संवाददाता

बीबीसी,१३ वैशाख ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सत्यलाई पूर्णरुपमा बेवास्ता गर्नका लागि चिनिन्छन् । तर उनका पूर्ववर्तीहरुका झुट पनि विचित्रखालका रहेको बीबीसीमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । उनीहरुका झुट भयानकखालका रहेको र यसकारण उनीहरुसँग ट्रम्पको तुलना गर्ने हो भने उनी कहाँ पर्छन् त भन्नेबारे चर्चा भएको छ ।

१९९० को अगस्टमा जब सद्दाम हुसेनले तेलको धनी एमिरेट अफ कुवेतलाई कब्जा गरेको थियो, त्यस समयमा राष्ट्रपति जर्ज एच.डब्लू बुशले जङ्गिँदै, ‘यो कदापी हुँदैन’ भनेका थिए । तर जब अमेरिकी सेना गल्फ पुग्यो, अमेरिकी जनताहरु उक्त सैन्य कारबाहीको औचित्यबारे शंकास्पद थिए ।

यसपछि निर्वासनमा रहेको कुवेती सरकारले तत्कालै अमेरिकी पब्लिक रिलेसन्स फर्म, हिल एण्ड कोल्टनलाई भाडामा लियो जसको वासिङटन डीसीमा रहेको कार्यालय बुशकै पूर्वकर्मचारी प्रमुखले सञ्चालन गर्दथे । उक्त फर्मले एक १५ वर्षीया युवतीलाई १९९० अक्टोबरका दिन अमेरिकी संसदसामु प्रस्तुत गरायो । ती युवतीले इराकी सेनाहरु कुवेतको अस्पतालमा जबरजस्ती घुसेर भर्खर जन्मिएका बच्चाहरु खोसी तिनलाई मार्नका लागि भुईँमा फालिदिने गरेको बयान दिइन् । उनलाई ‘नयिरा’ को नामले बोलाइएको थियो । यता सञ्चारकर्मीहरु उनको वास्तविक परिचय खुलाइएमा, परिवार संकटमा पर्ने हुँदा त्यो नामको प्रयोग गरिएको भनेर सुनिश्चित थिए ।

तर उनको कथा सम्बन्धी वास्तविक तथ्य युद्धपश्चात् मात्र सबैलाई थाहा भयो जसमा उनी वास्तवमा अमेरिकाका लागि कुवेती दूतकी छोरी रहेको पत्ता लाग्यो ।
साथै उनले भनेका कुराहरु पनि आधारहीन भएको खुलासा भयो । यसबारे जोन मेकआर्थरले विस्तृतमा आफ्नो किताब, ‘सेकेन्ड फ्रन्ट : सेन्सरसीप एण्ड प्रोपोगान्डा इन द १९९१ गल्फ वार’ मा लेखेका छन् । यसरी बुशले युद्ध अघि बढाउँदै गर्दा यिनै झुट र भ्रामक कथालाई सार्वजानिक रुपमा कम्तीमा पनि ६ पटक उल्लेख गरेको रेकर्ड छ ।

साउदी अरबमा अमेरिकी सेनासमक्ष भाषण गर्दै एक समारोहमा बुशले भनेका थिए, “बच्चाहरुलाई इन्क्युबेटरबाट निकालेर भुईँभरि दाउरा जसरी छरिएको छ ।”
मेकआर्थरका अनुसार यही भ्रामक कथाले अमेरिकी जनतालाई सेनाको कारबाही अपनाउन मद्दत दिलायो । यसमा आश्चर्यजनक कुरा के थियो भने बच्चाहरु वास्तवमा गल्फको पहिलो युद्धका समयमा हराएका थिए तर त्यो सबै अमेरिकी सेनाले लडाईँ सुरु गरेपछि मात्र भएको थियो ।

बम खसालिएको पहिलो रात विस्फोटनपछि विद्युत कटौति हुँदा त्रसित बनेका नयाँ आमाहरुले आफ्ना नवजात शिशुलाई इन्क्युबेटरबाट निकालि घरको पुछारमा रहेको बेसमेन्टमा शरण लिएका थिए । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार चिसोका कारण त्यस समय ४० भन्दा धेरै नवजातको मृत्यु भएको थियो । त्यस्तै लडाईँको ४२ औँ दिनसम्म आइपुग्दा हजारौँ निदोर्ष जनताहरु मारिएका थिए ।

यसमा बुशलाई उनले दोहोर्याइरहने गरेको ‘बच्चाहरु भुईँमा फालिने कथा’ सत्य होइन भन्ने वास्तवमै थाहा थियो या थिएन भन्ने कहिल्यै स्पष्ट भएन । सामान्यतयाः यस किसिमका राष्ट्रपतिले बारम्बार उल्लेख गरिरहने भयानक दाबीहरु ह्वाइटहाउसले प्रमाणित गर्ने अपेक्षा गरिन्छ ।

यता अमेरिकी सञ्चारकर्मीहरुले पनि नायिराको कथालाई युद्ध पछि मात्र गलत ठहर्याउन सकेका हुन् । यो काण्ड बुशबारे हालै सार्वजनिक उनको महानता प्रस्तुत गरिएको आत्मकथाबाट भने हटाइएको थियो र २०१८ मा उनको मृत्यु भएपछि गरिएको प्रेस कभरेजमा पनि कतै उल्लेख गरिएको थिएन ।

यसरी राष्ट्रपतितर्फबाट हुने बेइमानी या कम इमानदार व्यवहार सम्बन्धी ट्रम्पको कार्यकालमा भने मिडियाले धेरै नै जाँच र खोजी गरेको पाइन्छ । वासिङटन पोस्टसँग मात्र ट्रम्पले भनेका ३० हजार गलत वक्तव्यहरुको डाटाबेस नै छ । यसमा गल्फ, आफ्नो धनसम्पतिलगायतका ससाना गलत दाबीदेखि ठुल्ठुला भ्रम फैलाउने काम पनि उनीबाट भएको छ ।

जस्तै यसमा सर्वाधिक चर्चामा आएको काण्ड भनेको कोरोना भाइरसबाट हुन सक्ने खतराबारे उनले अमेरिकी जनता सामु खुलेआम गलत अभिव्यक्ति दिएका थिए । र अमेरिकामा कोरोना फैलनु, संक्रमण अनियन्त्रित अवस्थामा पुग्नु अनि लाखौँ मानिसको मृत्यु हुनुका पछाडि अझै पनि यसलाई जिम्मेवार ठहर्याइने गरिन्छ । यदि उनले समयमै सहि कदम उठाएको भए, जनतालाई यसका खतराबारे सचेत गराइरहेको भए, मास्क लगाउनुको महत्व बुझाउन सकेको भए क्षति धेरै कम हुने स्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

यसका साथै निर्वाचनमा धाँधली भएको आधारहीन दाबीले पनि संसदमा ऐतिहासिक हिंसा सिर्जना गरेको अझै धेरैले भुल्न सकेका छैनन् । ‘अमेरिकन लाइ’ का लेखक, बेन्जामिन गिन्सबर्गका अनुसार राष्ट्रपतिबाट बोलिने असत्य र भ्रामक कुराहरुको कतिपय अवस्थामा धेरै ठूलो परिणाम भोग्नुपर्ने हुन सक्छ । विशेषगरी सैन्य कारबाहीका लागि अग्रसर गराउने किसिमका भ्रम र गलत कुराहरु सबैभन्दा हानिकारक हुन्छन् र यस सन्दर्भमा ट्रम्प उनका पूर्ववर्तीहरु जति दोषी छैनन् ।

जोन्स होप्किन्स युनिभर्सिटीमा राजनीतिक विज्ञानका लेक्चरर प्रोफेसर गिन्सबर्ग भन्छन्, “वास्तवमा अमेरिकी राष्ट्रपति छनोटको प्रक्रिया नै समस्याजनक छ । यसमा वर्षौँको प्रचार अभियान आवश्यक पर्दछ र सबैभन्दा आक्रामक, घमन्डी, महत्वाकांक्षी र स्वयमलाई प्रेम गर्ने व्यक्तिले मात्र यसमा लड्न सक्छन् ।”
कुनै समय यस्तो पनि थियो कि अमेरिकी जनताहरु, बच्चा जसरी आफ्ना कमान्डर–इन–चिफलाई पूर्ण विश्वास गर्दथे । उनीहरुको भगवान् समान भक्ति गरिने गरिन्थ्यो ।

कसरी आयो त परिवर्तन ?

धेरै इतिहासविद्हरुले यस सम्बन्धी घटनालाई लिन्डन बेइन्सबाट सुरु भएको मान्ने गरेका छन् तर जनतालाई खुलेआम झुक्याउने उनी पहिलो राष्ट्रपति भने कदापी होइनन् । जोन एफ केनेडीका भाइ रोबर्ट केनेडीले एकपटक लिन्डन बेइन्स जोन्सनका बारेमा भनेका थिए, “उनले सबै कुराका बारेमा लगातार झुट बोलिरहेका हुन्छन् । झुटो बोल्नु नपर्ने अवस्थामा समेत उनी झुट बोल्छन् ।”

भियतनाम युद्ध सम्बन्धी जोन्सन्सका झुटहरुमा १९६४ का नावी हमला पनि पर्दछ जुन कहिल्यै भएकै थिएन । उनले त्यसको दुई महिनापछि मतदाताहरु सामु भनेका थिए, “हामी हाम्रा अमेरिकी युवाहरुलाई घरबाट दशौँ हजार माइल टाढा अर्काको लडाईँ लड्न कहिल्यै पनि पठाउनेछैनौँ ।” तर निर्वाचित भएपछि उनले चुपचापसँग पहिलो अमेरिकी कम्ब्याट फोर्सलाई युद्ध भूमीमा पठाएका थिए जसमा ५० लाख भन्दा धेरै सेना तैनाथ गरिएको थियो ।

यसरी उनको कार्यकालभरि नै सञ्चारकर्मीहरुले अमेरिकी राजनीतिको विश्वसनीयतामा ठूलो अन्तरको अनुभव गरे । यसपछि उनका उत्तराधिकारी रिचार्ड निक्सनले चुनावका लागि लड्दा भियतनामको संकटलाई सम्मानपूर्ण अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए । तर अर्कोतर्फ गोप्य रुपमा तटस्थ रहेको कम्बोडियामा बम हमला गरि युद्धलाई थप विस्तार गराएका हुन् ।

तर निक्सनको राष्ट्रपति पदमा टुङ्गो लगाउने काण्ड भने अर्कै थियो । अमेरिकी इतिहासकै चर्चित ‘वाटरगेट घोटाला’ मा निक्सनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरुको कुरा सुन्न अवैध तरिकाले ‘वायरट्याप’ लगाएका थिए । तर लामो समयसम्म पनि निक्सनले भने सबै काण्डलाई राजनीतिक रणनीतिको नाम दिइ नजरअन्दाज गर्ने प्रयास गरेका थिए ।

अमेरिकी बालबालिकाहरुलाई कुनै समय राष्ट्रपति जसरी सत्य बोल्न भनेर सिकाइन्थ्यो । बाल्यकालमा जर्ज वासिङटनले आफ्नो गलती स्वीकार्दै गर्दा ‘आइ कान्ट टेल अ लाइ’ अर्थात् ‘म झुटो बोल्न सक्दिनँ बुवा’ भनेको अझैसम्म पनि प्रख्यात अभिव्यक्ति मानिन्छ । यसलाई पूर्ण रुपमा राष्ट्रपतिका पहिलो आत्मकथा लेखकले सिर्जना गरेका थिए ।

तर देशका पिता भनेर चिनिएपनि उनी झुटो बोल्नेबाट आफैँ पन्छिन सकेनन् । १७८८ मा उनले इतिहास पुनःलेखन गर्न खोज्दै सात वर्ष अगाडिको क्रान्तिकारी युद्धमा योर्कटाउनस्थित ब्रिटिश विरुद्ध जित हासिल गर्न सक्नुका पछाडि आफ्नो रणनीतिक योजना भएको दाबी गरेका थिए । तर वास्तवमा उनका फ्रान्सेली सहयोगीहरुले उक्त निर्णायक युद्धमा सबै योजना बनाएका थिए ।
राष्ट्रपतिको समर्थनमा ह्वाइटहाउसले बताउने गरेका केही तथ्यहरु पनि अत्यन्तै आश्चर्यजनक रहँदै आएका छन् । राष्ट्रपति थोमस जेफरसनले न्यु वल्र्ड्स फउनालाई उपेक्षा गरेका युरोपेली प्रकृतिविद्सँग बोल्दै ‘वुली म्यामोथ’ (लोप भइसकेको हात्तीको प्रजाति) अमेरिकाको अपरिचित पश्चिमी भूभागमा घुमफिर गर्ने गरेको बताएका थिए ।

त्यस्तै १९८३ मा राष्ट्रपति रोनाल्ड रिगनले चाहिँ नाजीले मार्ने गरेको क्याम्पका अत्याचारीहरुको घटना सबैभन्दा पहिले आफूले अमेरिकी आर्मी सिग्नल कप्र्समा हुँदा खिचेको दाबी गरेका थिए । उनले यो कथा ह्वाइटहाउसमा हुँदा तत्कालीन इजरायली प्रधानमन्त्री यिट्जाक शामिरलाई पनि सुनाएका थिए । जबकी रिगन दोस्रो विश्व युद्धका बेलामा अमेरिकाबाट बाहिर गएकै थिएनन् । थोरैलाई मात्र उनको यो दिमाग खलबल्याउने झुट याद छ होला ।

यता ट्रम्पले दिएका कतिपय अभिव्यक्तिहरु पनि बिर्सन नसक्ने किसिमको भएकामा कुनै शंका छैन । ‘वाइ प्रेसिडेन्ट्स लाइ’ भन्ने किताबका लेखक प्रोफेसर एरिक अल्टरमन भन्छन्, “हामीले गणतन्त्रको सुरुवातदेखि नै राष्ट्रपतिहरुबाट झुट सुन्दै आएका छौँ । तर डोनाल्ड ट्रम्प राजनीतिक प्रणालीकै भयानक आकृति हुन् जसले झुट बोल्ने मात्र नभएर त्यसको माग नै राखेका छन् । ”

प्रोफेसरका अनुसार अमेरिकी संसद भवनमा हमला गर्न आउनेहरुमाझ ट्रम्पले यसरी भ्रामक षड्यन्त्रका कथाहरु स्थापित गराए कि उनले उनीहरुमा अलगै दुनियाँको सिर्जना गराएक थिए ।

यी सबै तथ्यहरु हेर्दा यसले ह्वाइटहाउसको डाइनिङमा खोपिएकोः ‘यो छाना मुनि केबल इमान्दार र सच्चा व्यक्तिले मात्र शासन गरोस्’ भनाइको याद दिलाउँदछ । बीबीसीबाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।