रियल मड्रिड बराबरीमा रोकियो

रामेछाप खबर संवाददाता

काठमाडौं,१२ वैशाख ।

स्पिनस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले घरेलु मैदानमै बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमायो । यस बराबरीले एट्लेटिकोसँगै तेस्रो स्थानको बार्सिलोनालाई पनि फाइदा पुगेको छ ।

३३ खेलबाट रियलको ७१ अंक छ । एक खेल कम खेलेको एट्लेटिको ७३ अंकसहित शीर्ष स्थानमा छ । ३१ खेलमात्र खेलेको बार्सिलोना ६८ अंकसहित तेस्रो स्थानमा छ । रियल बेटिस ३३ खेलबाट ५० अंकसहित छैटौं स्थानमा छ ।

सुपर लिगः विराटनगर र धनगढी तथा पोखरा र बुटवल भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आजबाट हरेक दिन दुई खेला हुनेछन् । आज हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसी भिड्नेछन् । विराटनगर र धनगढीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र लुम्बिनीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ । बुटवलको कप्तानी विशाल श्रेष्ठले गर्ने छन् । हिजोबाट सुरु भएको प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ ।
हिजो भएको उद्घघाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।