एकै परिवारका चार जनाले छटपटाउँदै ज्यान गुमाए

रामेछाप खबर संवाददाता

काठमाडौं,१२ वैशाख ।

काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरबाट प्रभावित नागरिकले ज्यान जुमाउन थालेपछि तथ्याङक बढिरहेको छ । उपचारका लागि अस्पताल गएकाहरू अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । शवहरूको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ ।

महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै परिवारका चार जनाले आठ दिनको अन्तरमा ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ । मृत्यु हुनेमा आमा–बुवा र उनीहरूका दुई छोरा छन् । परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ ।

दैनिक भास्करका अनुसार मृत्यु हुनेमा पुणेको हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरू श्यामसुन्दर र विजय छन् । उनीहरू एउटै घरमा बस्दै आएका थिए । बेड अभावमा उनीहरूको अलग–अलग अस्पतालमा उपचार भइरहेको थियो ।

डाक्टरहरूले सबैभन्दा पहिले सुमनको १६ अप्रिलमा मृत्यु भएको बताएका छन । त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको मृत्यु भएको थियो । छोराहरू श्यामसुन्दर र विजयले पनि संसार छाडे ।

श्यामसुन्दरकी पत्नीको गम्भीर अवस्थामा उपचार जारी छ । उनको फोक्सोको ५० प्रतिशत भागमा संक्रमण भएको डाक्टरहरूको भनाइ छ । पुणे जिल्लाका अस्पतालहरूमा एक लाख १६ हजार कोरोना संक्रमितको उपचार भइरहेको समाचारमा उल्लेख छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।