माधव नेपाललाई पार्टीमा राखुन्जेल भ्रम छर्छन्, तुरुन्त निकाल्नुपर्छ : कर्ण थापा

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ बैसाख ।

नेकपा(एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद माहसंघ राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले माधवकुमार नेपाललाई पार्टीमा राखुञ्जेल भ्रम सिर्जना हुने र मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने षडयन्त्र गरेकाले पार्टीबाटै निस्कासन गर्नुपर्ने बताए। नेपाललाई अब ६ महिनाको निलम्बनले नपुग्ने पनि बताए।

उनले भने, ‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन। उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ। काम छैन, यहाँ भित्र जति राखिन्छ भ्रम सिर्जना हुन्छ। भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ। यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ।’ नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत थापाले लगाए।

एउटै विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टी

पोखरा । बागलुङमा एक विद्यालयका ३९ जनामा कोरोना संक्रमण भएको छ । आइतबार र सोमबारसमेत निरन्तर पढाइ चलेको जिल्लाको बागलुङ नगरपालिकाको एक विद्यालयमा विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सामान्य लक्षण देखा परेपछि ९८ जनामा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख डा. सुरज गुरौंले जानकारी दिए ।

पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् । संक्रमित सबै अहिले होम आइसोलेसनमा छन् । एउटै विद्यालयबाट यति ठुलो संख्यामा अभिभावक, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाको पालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (एलसीसीएमसी)को आकस्मिक बैठकले नगरपालिकाका वडा नम्बर १२, १३ र १४ लाई कम्तिमा १० दिन पूर्ण रुपमा बन्द गर्न जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

‘बागलुङमा समुदायस्तरमै कोरोना देखियो । अभिभावक, विद्यार्थी र शिक्षक सबैलाई कोरोना संक्रमण देखिन थाल्यो,’ डा गुरौंले नेपाल प्रेससँग भने, ‘सरकारले गरेको निर्णयमा पनि अटेर गरेपछि १० दिनका लागि विद्यालय पूर्ण रुपमा बन्द गर्न सिफारिस गर्ने निर्णय भएको छ ।’

एलसिसिएमसीको बैठकले डीसीसीएमसीलाई बागलुङको बलेवा क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । एलसीसीएमसीको सिफारिसलाई डीसीसीएमसीले सदर गरेमात्रै त्यहाँ लकडाउन हुनेछ ।

केही समयअघि भारतबाट आएका ३ जनामा कारोना संक्रमण देखिएको र त्यसैबाट अरुमा पनि सरेको हुनसक्ने डा गुरौंको भनाइ छ । ‘३ जनामा कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङ गर्दा थप ८ जनालाई देखिएको थियो,’ गुरौंले भने, ‘अहिले सबै संक्रमित त्यही कन्ट्याक ट्रेसिङबाटै पुष्टि भएका हुन् ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा कोरोना संक्रमितको संख्या एक हजार १ सय ७ पुगेको छ । जसमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बैशाख २ गते सरकारले गण्डकी प्रदेशको बागलुङ र पोखरासहित १४ वटा जिल्लालाई उच्च जोखिमयुक्त जिल्ला घोषणा गरिसकेको छ ।

कोरोना अतिप्रभावित ती जिल्लाका विद्यालय बन्द गर्नसमेत अपील गरिसकेको थियो । तर, ती जिल्लाले अटेर गर्दै पढाइ निरन्तरता दिइरहेका छन् । सरकारको अपीलले मात्रै प्रभावकारी भूमिका निर्वाह नगरेपछि सोमबार मन्त्रिपरिषद्को बैठकले नै सबै विद्यालय बैशाख अन्तिमसम्मका लागि बन्द गर्ने निर्णय नै गरेको छ ।

सरकारले विद्यालयको भौतिक पढाइलाई बैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गरेर वैकल्पिक माध्यमबाट पढाउन निर्देशन जारी गरेको छ । तर, गण्डकीका कास्की, बागलुङलगायत ठाउँका विभिन्न स्कुलले पढाइलाई जारी राखेका थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।