यसकारण एमालेबाट घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ चैत ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नु भएको छ । पार्टीका हित विपरीतको गतिविधिमा संलग्न रहेको भन्दै दुवै नेतालाई पत्र पठाउँदै निलम्बन गरिएको जानकारी दिइएको छ । यसअघि बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ओलीले ६ महिनाका लागि निलम्बन गर्नु भएको थियो ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाल, रावल, भुषाल र पाण्डेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीमा पार्टीले गरेको निर्णय अनुसार चारै नेतालाई महासचिव ईश्वर पोखरेलले स्पष्टिकरण सोध्नु भएको थियो ।

कारबाहीपछि पाण्डेको प्रतिक्रिया : गुटपरस्त ओली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न चाहन्छन्

काठमाडौं । नेकपा एमालेका निलम्बित नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट र एमाले आन्दोलन समाप्त पार्न उद्यत् रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीका नेता घनश्याम भुसालसँगै ६ महिना निलम्बनको पत्र थमाएपछि क्षुब्ध बनेका पाण्डेले ओली कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लागेको प्रतिक्रिया दिएका हुन् ।

बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले ओलीको कदमबाट आश्चर्यचकित हुनुपर्ने कुनै कारण नरहेको बताए । ओलीको कदम नियोजित र अपेक्षित नै रहेको उनको प्रतिक्रिया छ ।

“यो चाहिँ ओलीजीको मुलुकको कम्युनिस्ट आन्दोलन, एमालेलाई समाप्त पार्ने दिशाको निरन्तरता हो,” उनी भन्छन् । ओलीले नवौँ महाधिवेशनमा पार्टी ‘कब्जा’ गरेको र त्यस बखतदेखि नै नेताहरूलाई कारबाहीको तयारी गरेको उनको जिकिर छ ।

“ओलीजी लामो कालदेखि ओली गुटपरस्त मानिस हो । गुटबन्दी गर्दैगर्दै गएर नवौँ महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो,” उनी थप व्याख्या गर्छन्, “यसले आन्दोलनलाई नोक्सानी गर्छ नै । हामी कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौँ । यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौँ । थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौँ । यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो ।”