सैयौँ सन्तानको माता बन्ने रुसी युवतीको इच्छा

रामेछाप खबर संवाददाता


रुसकी एउटी २३ वर्षीया युवती दश महिनामा १० जना बालबालिकाको आमा बनेकी छन् । ५५ वर्षे अर्बपति धनाढ्यसँग बिबाह गरेकी कृष्टिना ओज्टर्कले १ सय ५ जना बालबालिकाको आमा बन्ने रहर रहेको बताएकी छन् । सत्र वर्षको उमेरमा एक छोरीको एकल आमा बनेकी उनी बिदा मनाउन जर्जिया जाँदा उनको अहिलेका श्रीमानसँग भेट भएको थियो । हाल उनको पहिले आफैँले जन्माएकी एक र पछिका दश गरी ११ बालबालिका भइसकेका छन् ।

कृष्टिना दम्पत्तिले सरोगेसी (भाडाको आमा) प्रयोग गरेर दश महिनामा दश जना बालबच्चा जन्माएको हो । दोब्बर भन्दाबढी उमेरका श्रीमान गलिपले आफ्नो सोचाईलाई समर्थन गरेकाले धेरै बालबालिकाको मातापिता बन्ने चाहना अहिले नै नरोकिने बताएकी छन् ।

गलिप उमेरले धेरै ठूलो भए पनि आफ्नो उक्त चाहनामा कुनै आपत्ति नजनाएको कृष्टिनाले बताइन् । जर्जियाको बातुमी शहरमा बस्ने रुसी दम्पत्तिले सरोगेसीसम्बन्धी कुनै कानुन नभएको जर्जियालाई आफ्नो सोख पूरा गर्ने थलो छानेका हुन् । पछिल्लो मूल्यअनुसार जर्जियामा सरोगेसी प्रक्रियाबाट बच्चा जन्माउँदा नेपाली मूल्यअनुसार झण्डै साढे ११ लाख रुपैयाँ लाग्छ ।

उनीहरूको चाहनाअनुसार १ सय ५ जना बालबालिका जन्माउने हो भने १२ करोड रुपैयाँ भन्दाबढी खर्च गर्नुपर्ने हुन्छ । त्यसपछि ती सबैको लालनपालन,शिक्षा र औषधोपचारको निम्ति वर्षौंसम्म अर्बौं रुपैयाँ चाहिन्छ ।

उनीहरूको पहिलो सरोगेसी मुस्तफा १० मार्च २०२० मा र पछिल्लो तथा दसौं ओलिभियाको जन्म १ जनवरी २०२१ मा भएको हो । रुसी दम्पत्तिले सकेसम्म पहिलो बच्चा जन्माएकी आमाको खोजी गर्ने गरेको देखिएको छ । उनीहरूले ती आमाको खराब बानी र लतको बारेमा पनि राम्रैसँग जाँच पड्ताल गर्ने गरेको समाचारमा जनाइएको छ ।