नेपाल र रावललाई ओलीकाे चेतावनी : ‘नसच्चिए थप कारबाहीका लागि तयार रहनू’

रामेछाप खबर संवाददाता

काठमाडौं, १६ चैत्र ।

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निलम्बन गरेको छ । पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाउनुभएको छ ।

यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निलम्बन गर्नुभएको हो । स्पष्टीकरणमा सोधिएअनुसार भुल सुधार नगरेको, अहङ्कार देखाएको, गुट भेला गरेको, पार्टीको कुभलो चिताउनेसँग साँठगाँठ गरेको र उल्टै नेतृत्वलाई स्पष्टीकरण सोध्ने अनधिकृत र हास्यास्पद काम गरेको आरोपसहितको पत्र ओलीले नेपाललाई पठाउनुभएको छ ।

ओलीले पठाएको कारबाही पत्रमा माधव नेपाल र भीम रावललाई यो सच्चिने अन्तिम मौका भएकाले पार्टी र नेतृत्वविरुद्ध गतिविधि गर्न छाडेमा कारबाहीको अवधि घटाउन सकिने पनि उल्लेख छ ।

माधव कुमार नेपाललाई पठाइएको पत्रमा भनिएको छ, ‘यस्तै गतिविधि बाँकी रहेमा तपाईँ जुनसुकै बेला थप कडा कारबाही गर्नेतर्फ सचेत गराउँदै यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्कने मौका दिन एकैपटक कडा कारबाही गर्नु भन्दा पनि अहिलेलाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै अहिलेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।’