काठमाडौँमा जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी

रामेछाप खबर संवाददाता

काठमाडाैं, १६ चैत ।

केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।

‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ ।’

विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ ।

सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ । प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ । याे खबर आजको नागरिक दैनिकमा छापिएकाे छ।

होलीका दिन ग्याङ फाईट, दुई युवाको ज्यान गयो

होलीका दिन लागेको मेलामा युवाहरुबीच भएको ग्याङ फाईटको क्रममा दुई जना युवाको ज्यान गएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा ग्याङफाईट भएको थियो । दर्लिङको बल्देधुरीमा भएको उक्त झडपमा परी ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाईको भीर मुनि शव भिटिएको छ । उक्त घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । प्रष्ट नदेखिए पनि भिडियोमा केहि युवाहरुलाई भीरबाट धकेलिएको देखिन्छ ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घटनाको कारणबारे अनुसन्धान जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पाली मगरले जानकारी दिए । आइतबार दिउँसो होली मनाउन बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन्।