आखिर आमालाई कुराएरै र रुवाएरै गए शालीन नेता जोशी..

रामेछाप खबर संवाददाता


कांग्रेसका शालीन नेता नवीन्द्रराज जोशी मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका बेला उनकी आमाले जोशीलाई कुर्दै गरेको तस्बिरले सामाजिक सञ्जाल भरिएको थियो । शुक्रबार अन्ततः आमा कुरेको कुर्र्यै भइन्, फर्केनन् जोशी।

गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार साँझ ८ः२४ मा निधन भएको अस्पतालले जनाएको छ।

नेपाली कांग्रेसमा शालीन एवं बौद्धिक नेताको पहिचान बनाएका जोशी धेरैले चिन्ने नेपाली कांग्रेसका नेता । कांग्रेस भन्दा पनि किशोरावस्थादेखि नै नेपाली राजनीतिमा उपस्थिति देखाउन सफल जोशी २७ वर्षकै उमेरमा काठमाडौंको उपमेयर भएका थिए । उनी नेपाल विद्यार्थी संघको राजनीतिक यात्राबाट राजनीतिमा प्रवेश गरेका थिए।

१६ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यमा निर्वाचित भएका जोशी २२ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको महासचिव भएका थिए । त्रिचन्द्र क्याम्पसका विद्यार्थीसमेत रहेका जोशी १८ वर्षको उमेरमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा निर्वाचित समेत भएका थिए।

पछिल्लो समयमा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फरमेसनका प्रबन्ध निर्देशक समेत रहेका जोशी वीर गणेशमान एकेडेमीका सभापति समेत थिए । र, कमैलाई थाहा भएको उनको अर्को परिचय छ, वीर गणेशमान भन्ने चलचित्रका निर्माता । लौहपुरुष गणेशमान सिंहको नाममा बनेको चलचित्र वीर गणेशमानका निर्माताका रुपमा पनि जोशी रहेका थिए।

पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वकालमा उद्योग मन्त्रालयको जिम्मेवारी बहन गरेका जोशी संविधानसभाको दुवै निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ बाट विजयी भएका थिए भने पछिल्लो निर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट पराजित हुन पुगेका थिए । जोशीका श्रीमती र एक छोरी छन्।

मृत्युशय्यामा पुगेको सरकारी औ’षधि उद्योगलाई यसरी नयाँ जीवन दिएका थिए नवीन्द्रराज जोशीले

सरकारले अहिले पनि वर्षौँदेखि बन्द सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याउने बताइरहेको छ। केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुनेबित्तिकै बन्द अवस्थामा रहेका उद्योगहरुलाई सञ्चालन गर्ने बताए पनि अहिलेसम्म कसरी सञ्चालन गर्ने स्पष्ट पार्न सकेका छैनन्। न त त्यसको कुनै छनक नै देखिएको छ।

यसअघिका उद्योगमन्त्री मातृका यादवले सञ्चालन गर्न नखोजेका होइनन्, तर उनलाई प्रधानमन्त्री ओलीले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै पदबाट हटाइदिए। त्यसपछि लेखराज भट्ट उद्योगमन्त्री भए। उनले फेरि बन्द अवस्थाका रुग्ण उद्योग पुनः सञ्चालन गर्न सकिने नसकिनेबारे अध्ययन गर्न लगाएका थिए।अहिले पनि सरकार आफैँले सञ्चालन गर्नसक्ने कि नसक्ने अथवा निजी क्षेत्रसँग सहकार्य गरी सञ्चालन गर्ने भन्ने अन्योलमै छ।

तर यसअघि केहि मन्त्रीले भने ती रुग्ण उद्योगलाई ब्युँताउने प्रयास गरेका थिए।तीमध्ये तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले थालेको पहल भने साँच्चिकै फलदायी बन्यो। जोशीकै पहलका कारण एउटा महत्वपूर्ण सार्वजनिक संस्थाले पुनर्जीवन पाएको छ।

पुष्पकमल दाहाल प्रचण्डको सरकारमा २०७३ सालमा जोशी उद्योगमन्त्री थिए।मन्त्री हुनेबित्तिकै उनको नीति बन्यो– बन्द अवस्थामा रहेको सरकारी उद्योगलाई पुनर्जीवन दिने।त्यतिबेला उनले मुख्यगरी हेटौंडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलाई सञ्चालन गर्ने योजना अघि सारे। दुवै उद्योग सञ्चालनमा ल्याउन सक्षम नभए पनि उनले औषधि लिमिटेडलाई भने जीवनदान दिए।

हेटौंडा कपडा उद्योगलाई सेना प्रहरीका कपडा उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन खोजिएको थियो। तर त्यो सफल भएन। अहिले पनि हेटौंडा कपडा उद्योग त्यही अवस्थामा छ। त्यतिबेलै नयाँ जीवन पाएकाे औषधि उद्योग भने अहिले पनि उत्पादनमा व्यस्त छ।उनै नवीन्द्रराज जोशीको शुक्रबार बेलुका निधन भएको छ।

यसरी ब्युँतिएको थियो औषधि उद्योग

जोशी २०७३ भदौ १० मा उद्योगमन्त्री भएका थिए।उनले औषधि लिमिटेड सञ्चालनका लागि भदौ मसान्तभित्रै अर्थात् मन्त्री बनेको २० दिनभित्रै निर्णय लिएको त्यतिबेला उनका प्रेस सल्लाहकार रहेका प्रदीप चापागाईं बताउँछन्। नेपालमा सरकारी उद्योगहरु बन्द हुनुमा निजी क्षेत्रको ठूलो हात छ। चापागाईंका अनुसार जोशीले औषधि उद्योग सञ्चालनको निर्णय लिँदा पनि निजी क्षेत्रले अवरोध गर्न खोजेका थिए।

उनी भन्छन्, ‘यो औषधि उद्योग बन्द हुनुअघि एक पत्ता सिटामोल सरकारी उद्योगले उत्पादन गर्दा सर्वसाधारणले ८० पैसामा पाउँथे। निजी उद्योगले उत्पादन गर्दा त्यहि सिटामाेललाई आम उपभाेक्ताले १ रुपैयाँ ५० पैसा तिर्नुपर्याे। अब उद्योग पुनः सञ्चालनमा आउँदा त्यस्तै हुने हो कि भनेर उनीहरुले बाधा सिर्जना गर्न खोजेका थिए। तर त्यसबाट मन्त्री राेकिनुभएन।’

मन्त्री हुनेबित्तिकै नवीन्द्रराज जोशीले सबै प्रक्रिया पूरा गरेर तीन महिनाभित्रै ८ प्रकारका औषधि उत्पादनको योजना बनाएका थिए।यसअनुसार सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस उत्पादन गर्ने योजना थियो।
त्यसको लागि सुरुमा मन्त्रिपरिषदको बैठकबाट आवश्यक ऋणका लागि सैद्धान्तिक सहमति लिएका थिए।जोशीले अर्थशास्त्री पुष्कर बज्राचार्यको संयोजकत्वमा उद्योग सञ्चालन अध्ययन समिति गठन गरेका थिए।

सो समितिमा डा. जगदीश अग्रवाल, उद्योग मन्त्रालयका तत्कालीन सहसचिव यमलाल भुसाल, अर्थ मन्त्रालयका एक जना प्रतिनिधि र औषधि व्यवस्था विभागका एक जना प्रतिनिधि समावेश गरेका थिए। समितिले उद्योग सञ्चालनमा ल्याउन सकिने प्रतिवेदन बनाएर मन्त्रीलाई बुझायो। त्यसपछि सरकारले उद्योग ब्युँताउन १४ करोड ६५ लाख रुपैयाँ ऋण दियो।

यति हुनासाथ जोशीले उद्योग तत्काल सञ्चालनमा ल्याउने गरी काम अघि बढाए। त्यही वर्ष पुसमा अर्थात् २०७३ मै उद्योगले जीवनजल उत्पादन गर्न सफल भयो। २०६० सालमा बन्द भएको यो उद्योगले जीवनजल उत्पादन गरेर १३ वर्षपछि यसरी पुनर्जीवन पाएको थियो।

त्यसपछि उद्योगले ग्लिसिरिङ, डिस्टिल्ड वाटर पनि उत्पादन सुरु गर्यो। नेपाल औषधि लिमिटेडको चर्चित औषधिमध्ये रहेको सिटामोल उत्पादन गर्ने योजना बनाइरहँदा जोशी मन्त्रीबाट हट्नुपर्यो।

तर पनि उनको योजनाअनुसार नै उद्योगले सिटामोल उत्पादन सुरु गर्यो। त्यसयता कोरोनाको समयमा पनि यसले उत्पादन गरेको सिटामोल बढाएर उत्पादन गरिएको थियो।नेपालमा कोरोना सुरु भएको समयमा सिटामोल अभाव समेत देखिनथालेपछि सरकारले यही उद्योगको उत्पादनबाट यसको अभाव पुरा गरेको थियो।

चापागाईँ भन्छन्, ‘नवीन्द्रराज जोशीले त्यतिबेला औद्योगिक क्षेत्रका लागि निकै महत्वपूर्ण नीतिगत सुधार गर्नुभएको थियो।’उद्योग दर्तामा सहजता प्रदान गर्नेदेखि आवश्यक ऐन नियमावलीको विषयमा फास्ट ट्रयाकमा काम अघि बढाउनेसम्मका काम जोशीले गरेको उनको भनाइ छ।