तीनवटा डकुमेन्ट बोकेर भूगोलमा जाने खनाल–नेपाल समूहको तयारी, यस्तो छ रणनीति

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ चैत्र ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टी सञ्चालन गर्न नचाहेको निष्कर्ष निकालेको छ । शनिबार भएको केन्द्रीय सदस्यहरुको अनौपचारिक भेलाले ओली सर्वोच्च अदालतको फैसलाअनुसार जेठ २ मा फर्कन नचाहेकाले समानान्तर कमिटीलाई निरन्तरता दिने निर्णय गरेको छ ।

“केपी ओली जेठ २ गतेअघि फर्कँदैनन् । महाधिवेशन घोषणा गरे, आयोजक कमिटी बनाए । पछिल्ला निर्णयले समस्या थपिँदै गएका छन् । यसको निष्कर्ष भनेको एकीकृत पार्टी नचलाउने नै हो । हामीले समानान्तर कमिटीलाई निरन्तरता दिनुपर्छ । संगठित गरिरहनुपर्छ । त्यसका लागि हामी कसरी यहाँ आइपुग्यौँ भन्ने कुराहरु समेटेर सामग्री प्रकाशन गर्ने र त्यसलाई छिटोभन्दा छिटो देशव्यापी रुपमा कार्यकर्तामाझ लिएर जानुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ,” एक केन्द्रीय सदस्यले भने ।

सर्वोच्च अदालतको फैसलाले एमाले साबिकको अवस्थामा फर्किए पनि अध्यक्ष ओलीले फागुन २८ गते केन्द्रीय कमिटी बैठक र त्यसपछि संसदीय दलको बैठक राखेर केही महत्वपूर्ण निर्णय गरेका थिए । त्यसले एमाले विवादभित्र चर्किएको छ ।

खनाल–नेपाल समूहले पछिल्ला निर्णय फिर्ता लिनुपर्ने माग गर्दै आएको छ । तर, ओलीले विधानसम्मत निर्णय गरेको जिकिर गर्दै पछि नहट्ने बताउँदै आएका छन् । खनाल–नेपाल समूहले भने ती निर्णय फिर्ता लिएर पार्टीलाई एकताबद्ध बनाउन माग गर्दै सार्वजनिक वक्तव्य निकाल्ने तयारी गरेको छ ।

वक्तव्य निकाल्दै खनाल–नेपाल समूह
केन्द्रीय कमिटीका ती सदस्यका अनुसार केन्दीय सदस्यहरुका सुझाव समेटेर वक्तव्य निकाल्ने जिम्मेवारी नेता भीम रावललाई दिइएको छ । सम्भवतः भोलि वक्तव्य जारी हुने केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

“वक्तव्यमा अदालतले भनेमुताबिक जेठ २ गतेको कमिटी विधान, कार्यक्रम, जिम्मेवारी ब्युँताउन माग गर्नेलगायतका विषय समेटिनेछन्,” राईले भने ।

एमालेमा नै रहेर संघर्ष गर्ने
खनाल–नेपाल समूह ओलीले एकीकृत पाटी नचाहेको ठहर गर्दै पार्टीभित्रै रहेर संघर्ष गर्ने निचोडमा पुगेको छ । दोस्रो तहका नेताहरुले एकताका लागि संवाद गर्ने र पाटीभित्रै रहेर संघर्ष गर्ने निर्णय भएको एक सदस्यले बताए ।

“वार्ताको ढोका बन्द नगर्ने । शीर्ष नेताहरुबीच त अहिले नै वार्ता सम्भव नहोला, द्रोसो तहका नेताहरुले एकताका लागि वार्ता जारी राख्ने । अहिले नै पार्टी छुट्ट्याएर, फुटाएर अरु कोहीसँग एकता गर्ने भन्ने कुरा हुँदैन । पाटीभित्रै रहेर संघर्ष गर्नुपर्छ भन्ने निष्कर्षमा छौँ,” ती नेताले भने ।

तीनथरी डकुमेन्ट बोकेर भूगोलमा
“केही समय अल्मलियौँ । अब एक महिनाचाहिँ धुलीमाटी भएर भूगोलमा तीनखालको डकुमेन्ट लिएर जाने,” ती नेताले भने । उनका अनुसार तीन डकुमेन्टमध्ये पहिलो भनेको राष्ट्रिय भेलामा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको र आएका सुझाव समेटिएको एउटा दस्तावेज हुनेछ ।

अर्को, स्पष्टीकरणका लागि सोधिएका प्रश्न र खनाल–नेपाल समूहले दिएको जवाफी प्रतिप्रश्नलाई पनि भूगोलसम्म पुर्‍याइनेछ । एमालेका महासचिव ईश्वर पोखरेलले नेताहरु माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीविरोधी गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए । नेता नेपाल र रावलले त्यसको जवाफ दिँदै अध्यक्ष ओलीलाई प्रतिप्रश्न गरेका छन् ।

त्यस्तै, ओलीले हालसम्म पार्टीमा गुटबन्दी कसरी गर्दै आए भन्ने विषय समेटिएको डकुमेन्ट हुने ती केन्द्रीय सदस्यले जानकारी दिए । “केपी ओलीले कसरी गुटबन्दी गर्दै आए ? मदन भण्डारी फाउन्डेसन हुँदै झापाका चुनावमा विद्रोही सभापति उठाउनेदेखि लिएर गुटबन्दी गरेका कुरा समेटिनेछन् । अर्को, नवौँ महाधिवेशनले गरेका नीति-कार्यक्रम किन पछ्याउनु भएन भन्ने डकुमेन्ट बोकेर जिल्ला जाने भन्ने टुंगोमा पुगेका छौँ,” ती नेताले भने ।