एकै स्कुटरमा थिए बाबु, छोरी, भतिजी, बसको ठक्करबाट तीनैजनाको मृ’त्यु

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ चैत्र ।

चितवनमा यात्रु बस र स्कुटर एकआपसमा ठोक्किँदा तीनजनाको ज्यान गएको छ। एकै स्कुटरमा सवार एउटै परिवारका तीनजनाको बसको ठक्करबाट ज्यान गएको हो।

शनिबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-२२ बाट माडी ठोरी चल्ने भित्री सडकखण्डको पकौडीमा जगतपुरबाट भरतपुर आउँदै गरेको ना ५ ख २१५० नम्बरको बस र विपरीत दिशाको ना. ४० प ७०८२ नम्बरको स्कुटर ठक्कर खाँदा तीनैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृत्यु हुनेमा भरतपुर-६ गीतानगर निवासी स्कुटर चालक करिब ४५ वर्षीय मोहन अधिकारी, स्कुटरमा सवार उनकै छोरी १७ वर्षीया बिनिसा अधिकारी र मोहनकी दाजुकी छोरी १७ वर्षीया दिबिसा अधिकारी छन्।

घटनास्थलमा गम्भीर अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले बताए। उक्त दुर्घटना तीव्र गतिका कारण भएको थापाले जानकारी दिए।