दाह्रा किटेर सरकारको समर्थनलाई रोकेको मात्रै हो, एकदुई दिनमै समर्थन फिर्ता हुन्छः प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ चैत्र ।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्।

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताए।

केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब रहेको बताउँदै अबको राजनीति जतासुकै गएपनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने उनले बताए।

तर अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको उनको भनाइ छ।

उनले भने, ‘हामीलाई हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुबाट हत्त र पत्त समर्थन फिर्ता नलिग् है भनेर जबरजस्त दबाब छ ममाथि। हत्त र पत्त समर्थन फिर्ता लिइस् भने झन उल्टो पर्छ है भन्ने छ। मैले भनिराखेको छु नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ। मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई मैले समर्थन गर्न सक्दिनँ चाहे राजनीति जतासुकै जाओस्।’

उनले थपे, ‘मैले मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनु पर्दछ। म केहीदिन भित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु। तर मेरो कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौँ ती राजनीतिक दलहरुको बीचमा अबको निकासबारे एउता न्यूनतम सहमति र समझदारी होस्। अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक–दुई दिन रोकेको मात्रै हो।’