भारतमा फेला परेको नयाँ ‘डबल म्युटेन्ट भेरिएन्ट’ कत्तिको खतरनाक ?

रामेछाप खबर संवाददाता

बीबीसी, १३ चैत । ।

भारतमा संकलित स्याम्पलहरुमा कोरोना भाइरसको नयाँ ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । यस्तोमा वैज्ञानिकहरु अहिले एउटै भाइरसमा दुईवटा म्युटेसन अर्थात परिमार्जन हुनुले त्यसलाई कत्तिको संक्रमक बनाउँछ या खोपहरुको प्रभाव पो कम गर्छ कि भनेर अध्ययन एवम् जाँच गरिरहेका छन् ।
के हो डबल म्युटेन्ट भेरिएन्ट ?

अरु भाइरस जसरी नै कोरोना भाइरसको स्वरुपमा पनि एउटा मान्छेबाट अर्कोमा सर्दै जाँदा ससानो परिवर्तन आइरहेको हुन्छ । तर यस किसिमका परिवर्तनले प्रायः भाइरसको व्यवहारमा ठूलो प्रभाव पार्दैन । यसमा केही म्युटेसनले चाहिँ भाइरसको ‘स्पाइक प्रोटिन’ मा बदलाव ल्याउन सक्छ । स्पाइक प्रोटिनलाई भाइरसले मान्छेमा संक्रमित गर्न सेल भित्र प्रवेश गर्न प्रयोग गर्ने गर्दछ ।

त्यसैले यस्ता प्रकारका भाइरस सम्भावित रुपमा अरु भन्दा संक्रामक हुन सक्छन् र गम्भीर बिरामी पार्न सक्छन् या खोपले पनि यसमाथि काम नगर्न सक्छ ।

भारत सरकारका अनुसार पश्चिमी स्टेट, कोरोनाको हटस्पट महाराष्ट्रबाट संकलन गरिएको स्याम्पलमा गत डिसेम्बरको तुलनामा ‘इ४८४क्यु’ र ‘एल४५२आर’ म्युटेसनको मात्रा बढी रहेको पाइएको हो । स्वास्थ्य मन्त्रालयले भनेको छ, “यस किसिमको डबल म्युटेसनले शरीरको प्रतिरोधात्मक प्रहारबाट भाइरसलाई बचाउन सक्छ र संक्रमण स्तर वृद्धि गराउन सक्छ । ”

लुसियाना स्टेट युनिभर्सिटीका भाइरोलोजिस्ट डाक्टर जेरेमी कमिलका अनुसार इ४८४क्यु म्युटेसन इ४८४के सँग मिल्दोजुल्दो छ जुन यसअघि दक्षिण अफ्रिका र ब्राजिलमा छुट्टाछुट्टै फेला परेका परिमार्जित कोरोना भाइरस हुन् । यसरी भाइरस पर्याप्त रुपमा परिमार्जित हुन सक्ने हो भने त्यसले फरक किसिमले काम गर्न सुरु गर्नेछ र चिन्ताजनक भेरिएन्ट बन्न सक्छ ।

के यस किसिमको डबल म्युटेसन दुर्लभ हो ?

यो दुर्लभ नभएको डाक्टर कमिल बताउँछन् । उनी भन्छन्, “अहिले एकपटकमा एउटा भन्दा धेरै म्युटेसन देखिनु एकदमै सामान्य भइसकेको छ । महामारीको सुरुवातमा स्पाइक जिनहरुमा एउटा किसिमको म्युटेसन कताकती फेला परेको थियो तर अहिले त्यही किसिमको भाइरस सबैतिर व्याप्त भएको उनले बताए । डाक्टर कमिलका अनुसार गत मार्चमा बेलायतबाट संकलन गरिएको स्याम्पलमा ४३ भाइरसमा अहिले भारतमा भेटिएको दुईवटै म्युटेसन रहेको थियो ।

नयाँ भेरिएन्ट कति चिन्ताजनक ?

स्पाइक जिनमा परिवर्तन आउनुले हाम्रो सेल संक्रमण गर्ने भाइरसको क्षमतामा सुधार ल्याउँछ या एन्टिबडिजलाई निर्मुल पारेर भाइरसलाई बचाउन सक्छ । यसको अर्थ भाइरस सहि तरिकाले म्युटेट भएमा यसले कोभिड–१९ बाट ठीक भइसकेकालाई पुनः संक्रमित गराउन सक्छ । तर वैज्ञानिकहरुले पुनःसंक्रमणले सुरुवाती संक्रमणको तुलनामा मध्यम किसिमको प्रभाव मात्र पार्ने बताउँदै आएका छन् ।

यदि भाइरसले पुनःसंक्रमण मार्फत कोरोना फेरि फैलाउँछ भने यसले ‘हर्ड इम्युनिटी’ सिर्जना गर्नेछ । हर्ड इम्युनिटी भनेको समुदायको ठूलो हिस्सा खोप या रोगको व्यापक फैलावटका कारण भाइरसबाट असर विहिन वा इम्युन हुनु हो । यसले संवेदनशील वर्गमा गम्भीर बिरामी पर्ने जोखिम बढाउँछ किनकी भाइरस इम्युन समुह हुँदै उनीहरुसम्म पुग्न सक्छ ।

डाक्टर कमिलका अनुसार भारतमा फेला परेको भेरिएन्ट सम्भावित रुपमा बढी खतरनाक या संक्रमक नहुन सक्छ तर अझैपनि यसबारे निश्चित हुन थप डाटा आवश्यक पर्नेछ ।