ज्योति लाइफको आईपीओ बाँडफाँडआज , कती कित्ताका दरले शेयर पाउनेछन् ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ चैत ।

काठमाडौं – ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) आज मध्यान्न साढे १२ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार साढे १२ बजे ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा बाँडफाँड गरिन लागिएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मंगलबार गरिएको आईपीओको प्रि अलटमेन्ट अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।

यसअनुसार आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना (दोहोरो आवेदक सहित) आवेदकको हात खाली हुने देखिएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो ।

कुल आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाउनेछन् । ज्योति लाइफले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हरेक आवेदकलाई न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने र अपुग भएको खण्डमा निष्काशित शेयर संख्यालाई दशले भाग गरेर पुग्ने जति आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गरिने व्यवस्था छ ।

इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको आईपीओमा यसअघिको सबै रेकर्ड ब्रेक हुँदै सर्वसाधारणबाट आवेदन परेको थियो ।

आईपीओमा सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ताका लागि आवेदन परेको छ । जबकी कम्पनीले ५९ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन मागेको थियो ।