काठमाडौँ उपत्यकामा लागु भयो यस्तो नयाँ नियम, सबैले अनिवार्य थाहा पाउन पर्ने

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ चैत ।

पछिल्ला दिनहरुमा विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका प्रयासहरु सुरु भएका छन् । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् ।

त्यस्तै पछिल्ला केहि दिन यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोना महामारको जोखिमलाई मध्य नजर गर्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न भनेको छ। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले भीडभाड हुने कार्यहरू नगर्न भनेको हो।

‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो।

काठमाडौं प्रशासनले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरेमा संक्रामक ऐन अनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ। ललितपुर प्रशासन कार्यालयले ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसायहरू सञ्चालन नगराउन निर्देशन दिएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको रात्रीकालीन व्यवसायीहरू सञ्चालन नगराउन निर्देशन दिएको हो।त्यस्तै, व्यवसायहरू सञ्चालन गर्दा भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरूको व्यवस्था मिलाउन भनिएको छ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो। त्यही परिपत्र अनुसार ललितपुरले अस्पताल र स्वास्थ्य संस्थाहरू महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा लगाउने निर्णय गरेको छ।

उता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा बढी मानिस भेला हुने कार्यक्रममा कडाइ गरेको छ ।

जिल्लामा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको सूचनामा धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ।

कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।

‘यसबाहेकका सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको आदेशमा उल्लेख छ, ‘तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्व स्वीकृति प्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्नेछ।’

ज्वरो आएका यात्रुहरुको औलोको आरडिटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिीजन परीक्षण गर्नु पर्नेछ। सबै व्यक्तिहरुले सेनिटाइजर, मास्क र सामाजिक दूरी लगायतको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने प्रशासनले जनाएको छ।

यस्तै, कार्यालय, संघ संस्था, शैक्षिक संस्थाहरुले सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने, अत्यावश्यक बैठक गोष्ठी वा सेमिनार गर्नु परे जनस्वास्थ्यको मापदण्डकोे पूर्ण परिपालन गर्नु पर्नेछ। प्रशासनको आदेश अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाइएको छ।