गाईभैंसीको उपचारका लागि पशु चिकित्सक ‘डोर टु डोर’

रामेछाप खबर संवाददाता

काठमाडौं, १२ चैत्र ।

कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानले गाईभैंसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रम अनुसार गत फागुन २४ गतेदेखि जिल्लामा कार्यक्रम शुरू गरिएको हो । जिल्लाका व्यावसायिक रूपमा गाईभैंसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत डा. हरिनारायण थारुले जानकारी दिए ।

दुधालु गाईभैंसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । पहिलो चरणमा प्युठान नगरपालिकाका २१ गाईभैंसीको उपचार गरिएको छ ।

‘एक पटकमा समस्याग्रस्त २० गोठमा जाने योजन अनुसार कार्यक्रम सञ्चालन गरेका छौं,’ उनले भने, ‘पहिलो चरण सकायांैं, अबको हप्ता, १० दिनमा दोस्रो चरण शुरू गर्छाैं ।’ पहिलो चरणमा प्युठान नगरपालिकामा गाईभैंसीको उपचार गरे पनि दोस्रो चरणमा अन्य क्षेत्रमा जाने उनले बताए ।

गाईभैंसीको बाँझोपन, जुका, माटे, खनिजतत्व कमीबारे उपचार गरी पशुको प्रजनन् स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु विकास अधिकृत थारुले बताए । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको छ ।

एक गाईभैंसीलाई उपचारका लागि व्यवस्थापकीय खर्चसहित १० हजार रुपैयाँ खर्च हुने बताइएको छ । ‘गाईभैंसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ,’ उनले भने, ‘उपचारपश्चात् प्रजनन हुने र दूध उत्पादन पनि हुनेछ ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।