आलिया भट्टलाई किन बोलायो अदालतले ?

रामेछाप खबर संवाददाता


बलिउड अभिनेत्री आलिया भट्ट, फिल्म निर्देशक सञ्जय लीला भन्साली र दुई लेखकलाई भारतको एक अदालतले मानहानिको मुद्दामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । गंगुबाई काठियावाडी फिल्मसँग जोडिएका मानिसलाई अदालतले बोलाएको हो । उक्त फिल्म हुसेन जैदीको उपन्यास माफिया क्वीन्स अफ मुम्बईमा आधारित छ । मुम्बईमा कोठी चलाउने गंगुबाईको जीवनकथा यसमा समेटिएको छ ।

फिल्म जुलाई ३० मा रिलीज हुँदैछ । दिवंगत गंगुबाईका एक धर्मपुत्र बाबुराव शाहले मानहानिको मुद्दा दर्ता गरेका हुन् । आफ्नी आमाको इज्जतमा हानि गरेको तथा निजता र आत्मसम्मानलाई उल्लंघन गरेको आरोप शाहले लगाएका छन् ।

आलिया लगायतकालाई मे २१ मा अदालतसमक्ष उपस्थित हुन आदेश दिइएको हो । फिल्ममा कतिपय तथ्यहरू गलत रहेको शाहको दाबी छ । गंगुबाईको सम्बन्ध अन्डरवर्ल्डसँग नभएको उनी बताउँछन् ।

मुम्बईको कामाठीपुरामा गंगुबाईको कोठी थियो । कामाठीपुराका बासिन्दाहरूले फिल्मबाट आफूहरूको मानसम्मानमा धक्का पुगेको र यहाँका मानिस वेश्यावृत्तिमा लागेको संकेत गरिएको बताएका छन् ।