अज्ञात रोगका कारण सयौं विद्यार्थी बिरामी, पाँच दिनका लागि विद्यालय बन्द

रामेछाप खबर संवाददाता

दैलेख, १२ चैत ।

दैलेखको नारायण नगरपालिका–५ स्थित नवदूर्गा आधारभुत विद्यालयमा सयौंको संख्यामा अज्ञात रोगका कारण विद्याथीहरु बिरामी भएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।

गत शुक्रबार केही विद्यार्थीलाई ज्वरो आउने, रिंगटा लाग्ने, थरथरी काम्ने, स्वर फरक हुनेलगायतका लक्षणहरु देखिएको थियो, तर मंगलबारसम्म उक्त रोग सरेर सयौंको संख्यामा विद्यार्थीहरु विरामी भएपछि अभिभावक भेला गरी ५ दिनका लागि विद्यालय बन्द गरिएको हो ।

सात दिन अगाडि ८ मा अध्ययनरत छोरी बिरामी भएपछि अस्पताल लगेर उपचार गर्दा पनि अहिलेसम्म सञ्चो नभएको र घरमा अन्य छोरा छोरीलाई पनि सर्दै गएको ना.न.पा . ५ की अमृता बस्नेतले बताइन् ।

शुरुमा टाउको दुख्ने, खोकी लाग्ने, रातिमा बढी ज्वरो आउने, वाकवाक लाग्ने, खान मन नलाग्नेलगायतका लक्षण आफ्नो बच्चामा देखिएको र पछिल्लो समय घरका अन्य बच्चामा पनि सरेको स्थानीय खम्बीरा बि.क.ले बताइन् ।

विद्यालयमा मंगलबारसम्म ६५ जनामा उक्त समस्या देखिएको थियो, तर अहिले विरामीको संख्या बढ्दै बताइएको छ । त्यस्तै, समुदायमा फैलिएर दुई सय भन्दा बढीमा सरिसकेकाले यसको परीक्षण गरेर रोगको उपचार गनुपर्ने शि.अ.संघका अध्यक्ष पदम सिं आलेले जानकारी दिए ।

एउटै टोलमा पनि दश जना भन्दा बढीमा समस्या देखिएकाले समुदायका सबै त्रसित भएका उनले बताए । गत शुक्रबारदेखि विद्यार्थीमा सामान्य लक्षण देखिएको उक्त समस्या मंगलबारसम्म सयौंको संख्यामा फैलिएपछि सम्बन्धित सरोकारवाला पक्षसंग समन्वय गरी रोग फैलिनका लागि विद्यालय बन्द गर्नु परेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल नेपालिले जानकारी दिए ।

स्टाफ नर्स तथा स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दासमेत रोगथाम नभएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सकसहितको टोलीले उपचार गरेको विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । आवश्यक परेमा शिविरनै सञ्चालन गर्ने तयारी भएको उनले बताए ।

विद्यालय मात्र नभएर समुदायसम्म रोग फैलिइसकेकोले तत्काल स्वास्थ्य शिविर सञ्चालन गनुपर्ने आवश्यकता रहेको नारायण नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष लाल बहादुर बस्नेतले बताए ।

कोरोना महामारीले थला परेका स्थानीयलाई नयाँ खालको सरुवा रोग आएपछि त्रसित भएका छन् । उता जिल्ला स्वास्थ्य कार्यालयले भने तत्काल स्वास्थ्यकर्मीको टोली पठाई सकेको र विहीबार ल्याबसहितको टोली पठाउन लागिएको बताएको छ ।