खाने तेलको मूल्य फेरी बढ्यो, किन बढिरहेको छ तेलको मुल्य ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ११ चैत्र ।

काठमाडौँ । पछिल्लो समय उद्योगी व्यवसायीहरुले उपभोक्ताबाट खाने तेलमा मनपरी मुल्य असुल्ने गरेका छन् । उद्योगी व्यवसायीले सातादिनमै खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ मुल्य बढाएर उपभोक्तालाई ठग्ने काम गरेका छन् । साता दिनअघि प्रतिलिटर २ सय १५ रुपैयाँमा पाइने सूर्यमुखी तेलको मुल्य अहिले २ सय ३० देखि २ सय ३५ रुपैयाँ राखिएको छ । बजारमा पाइने सबै जस्तो खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ बढाएका छन् ब्यापारीले ।

नेपाल खुद्रा व्यापारसंघ अध्यक्ष राज कुमार श्रेष्ठले साता दिनमै सबै प्रकारको खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ बढेको बताए । थोक व्यापारीले नै १५ देखि २० रुपैयाँ बढी मुल्य लिने गरेको उनको भनाई छ । महिना दिन अघिको उत्पादन भएको तेलमा पनि थोक व्यापारीले मुल्य बढाएर बजारमा पठाएको उनको भनाई छ ।

अध्यक्ष श्रेष्ठले दशै यता मात्र तेलमा उद्योगी र थोक व्यापारीको मिलेमतोमा प्रतिलिटर ५५ देखि ६० रुपैयाँ बढाएको जानकारी दिए । ‘राज्यको निग्रानी नहुँदा उद्योगी व्यापारीले मनपरी मुल्य बढाएका हुन् ।’ मुल्य बढ्दाको आम आम उपभोक्ताको भान्सा महंगो हुन्छ । उपभोक्ता रुष्ट छन् । अध्यक्ष श्रेष्ठका अनुसार खुद्रा उपभोक्ता गाली भने खुद्रा व्यापारीले मात्रै खान्छन् ।

‘कालोबजारी गर्ने उद्योगी व्यापारीहरुलाई सरकारले नै संरक्षण गर्ने भएकाले उपभोक्ता गाली चाँही हामी खान्छौं ।’ उनले भने ‘सरकारले ठुला व्यापारी र उद्योगीका बारेमा अनुगमन नै गर्दैन ।’ बजारको अनुगमन र कालोबजारी गर्नेलाई कार्वाही नगर्दा ठूला उद्योगीले त्यसको फाइदा लिने गरेको उनको भनाई छ । अध्यक्ष श्रेष्ठका अनुसार अहिले तेलमा मुल्य बढाउनु पर्ने कारण नै छैन । तर उद्योगी र ठुला थोक व्यापारीको मिलेमतोमा महिना दिन अघि नै उत्पादन भएको तेलमा मुल्य समेत बढाएर बजारमा पठाएका छन्, । ‘के कारणले मुल्य बढेको हो भनेर सोध्दा समेत जानकारी दिइदैनन् ।’ अध्यक्ष श्रेष्ठले भने ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेको बाहाना उद्योगी व्यापारीले मनपरी खाने तेलमा मुल्य बृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको केही मुल्य बढेको भएपनि नेपालमा अहिले नै तेलको मुल्य बढाउनु पर्ने गरी तेलको कच्चा अभाव नै भएको छैन् अध्यक्ष महर्जनले भने,‘बजारमा तेलको कच्चा पदार्थ पर्याप्त छ । अन्तर्राष्ट्रिय बजारमा ०.३३ प्रतिशतले मुल्य बढेको छ । त्यही बाहानामा सबै उद्योगी व्यापारीहरु मिलेर काटेलिङ्ग गरेका हुन् ।’ उनले भने । ‘बजारमा खाद्य वस्तुको कुनै अभाव छैन । तर, उद्योगी व्यापारीले विभिन्न दलका नेताहरुलाई चन्दा दिनु पर्ने हुँदा विनाकारण दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्धि गरी उपभोक्ताबाट पैसा असुल्ने काम भएको उपभोक्ता मञ्चका अध्यक्ष महर्जनको भनाई छ । राज्यले नै उद्योगी व्यापारीलाई खाद्यन्न वस्तुमा मुल्य बढाउने बाटो दिएको महर्जनको भनाई छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले आइतबार उपभोक्ता र व्यवसायीहरुलाई विभागमा बोलाएर छलफल गर्दा १५ दिनमा दुई पटक तेलमा मुल्य बढाएको स्वीकार गरेको बताए । महानिर्देशक पौडेल भने,‘ व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको हुँदा मुल्य बढाएको भनेका छन् । तर १५ दिनमै २ पटक के कारणले मुल्य बढाएको हो तथ्य सहित तीन दिनमा विवरण बुझाउन निर्देशन दिएको छ ।’ महानिर्देशक पौडेलले बजार अनुगमन गर्दा अब विभाग मात्र एक्लौ नगएर सयुक्त रुपमा बजार अनुगमन गरीने बताए । उनले खाद्य वस्तुको गुणस्तर परिक्षण गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासनको संयुक्त बजार अनुगमन हुने बताए । अनुगमनमा कैफित भेटिए उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही गर्ने महानिर्देशक पौडेलले बताए ।