कोरोना संक्रमण बढेसँगै यसपालि होली मनाउन रोक

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

कोरोना भाइरसको संक्रमण बढे सँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइने भएको छ।

दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ।

भारतमा केही सातायता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ। दिल्लीमा पछिल्लो २४ घण्टा मा १ हजार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ जना संक्रमित को मृत्यु भएको छ। भारतमा मंगलबार ४० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो।

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो ।

अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ ।

गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न÷गराउन सबैलाई आग्रह गरिएको छ ।

कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।