एमाले हामी हो, केपी ओली बी–माले, सी–माले भएकाले पार्टी छाडेर गए हुन्छ : माधव नेपाल

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् । मंगलवार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताए ।

नेपालले स्पष्टीकरणबाट आफूहरू नतर्सेको समेत बताए । ‘आज एक जनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुपर्‍यो भने उहाँले जे–जे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकालिदिनुहुन्छ भने पनि पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस् । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’

ओली पक्षले सोधेको स्पष्टीकरणबाट भागेर मैदान नछाडने र पार्टी नफुटाउने पनि नेता नेपालले बताए । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहे पनि आफूले पार्टी नफुटाउने स्पष्ट पारे ।

‘मलाई एक जनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरी अनुहार उज्यालो गर्नुहोस्, अलि अँध्यारो–अँध्यारो जस्तो भयो, मुसुक्क हाँसिदिनुहोस्, म हाँस्ने प्रयत्न गर्दै थिएँ । तपाईंहरूमा अलिकता पनि नपरोस् कि हामी तर्सेका छौं, केपी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौं । हामी मैदान छाडेर भाग्नेवाला छैनौं, पार्टी हामी फुटाउँदैनौं । पार्टी फुटाउने केपी होली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । पार्टीलाई एकतावद्ध बनाउँछौं ।’

आफू कहिले अलमल र द्विविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पारे । आफूले चुनौतीको सामना गर्दै अगाडि बढ्ने बताए । ‘कस्ता–कस्ता कहाँ आए केपी ओली मेरो सामुन्नेमा,’ नेपालले भने । केपी ओलीको अहिलेको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताए ।

नेता नेपालले नेकपा एमाले आफूहरूको भएको पनि बताए । केपी ओली बी–माले, सी–माले भएकाले पार्टी छाडेर गए हुने टिप्पणी नेपालले गरे ।

‘नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानूनी हिसाबले कब्जा गरे भने विचार गरौंला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बी–माले हुन्, सी–माले हुन् उनी यो पार्टी छोडेर गए हुन्छ,’ उनले भने ।

केपी ओली र आफूहरूको बीचमा प्रवृत्ति र विचारको लडाइँ भएको पनि नेता नेपालले बताए । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको र आफू जहिले संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको उनले बताए ।