एक्कासी किन पठाओको लोगोअंकित कपडा लगाउन रोक लगाइयो ? यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

राइडर सेयर कम्पनी पठाओ नेपाल प्रालिले राइडरलाई राइडको समयमा अनिवार्य गराएको प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजरसहितको कपडा) तत्कालका लागि बन्द गरेको छ।

पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएको सो कम्पनीले जनाएको छ ।

राइडरहरुलाई पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न अनुरोध गरिएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइएको छ। साथै राइड सेवा भने निर्वाध चल्ने भनिएको छ।

उक्त सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने जानकारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

‘पठाओ सेवा बन्द गर्न भनेका छैनौं’

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओ सेवा बन्द गर्नेबारे कुनै निर्णय नभएको जनाएको छ । महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले पठाओलाई व्यवस्थित रुपमा सेवा दिन भनिएको भएपनि बन्द गर्नेबारे कुनै निर्णय नभएको प्रस्ट पारे ।

‘सबैतिरबाट पठाओ सेवा बन्द गर्ने निर्णय गरेको हो भन्दै सोध्ने गरिएको छ,’ उनले भने, ‘हामीले कुनै बन्द गर्ने निर्णय गरेका छैनौं,तर पठाओबारे गुनासा भने धेरै आएको हुँदा यसलाई व्यवस्थित रुपमा चलाउन जानकारी गराएका मात्र हौं ।’