केपी ओलीको दुई दिनको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेलसम्म मात्रै : बरिष्ठ नेता नेपाल

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत ।

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीको दुई दिनको चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेलसम्म मात्रै भएको टिप्पणी गर्नुभएको छ । मंगलबार (आज) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित आफ्नो समूहपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भेलालाई सम्बोधन गर्दै बरिठ नेता नेपालले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री ओलीको चुरीफुरीको हावा कुर्सीबाट बाहिर निस्केपछि खुस्किन्छ ।’ त्यस्तै, उहाँले ओलीले मागेको कथित स्पष्टीकरणबाट आफूहरु नतर्सिएको र आफूहरु ओलीविरुद्ध आत्मसमर्पण नगर्ने पनि बताउनुभएको छ ।

त्यस्तै, ओलीले जस्तोसुकै सेटिङ गरेको भएपनि अब कुनैपनि हालतमा राजतन्त्र पुनःस्थापना नहुने बताउँदै अबको लक्ष्य समाजवाद नै रहेको उहाँको दाबी छ । यसैबीच उहाँले ९औँ महाधिवेशनको कार्यदिशा अनुसार आफूहरू अगाडि बढ्न खोजेको पनि बताउनुभएको छ ।

‘अविश्वास प्रस्ताव फेल हुन्छ भनेर ल्याउन डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भनेर प्रश्न गर्नुभएकाे छ । प्रतिनिधि सभाकाे मङ्गलवारकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद अधिकारीले ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भए पनि नेकपा एमालेदेखि सातो गएको उहाँको भनाइ छ ।

लोकतन्त्रको कुरा गरे पनि चुनावमा जान डराएको पनि उहाँले बताउनुभयो । आफैँ भत्ता बढाउन माग गर्नेहरूले प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको उहाँको भनाइ छ । सांसद अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौतीसमेत दिनुभएकाे छ ।

मङ्गलवार प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष ती दुवै प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ती समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेस गर्नुभयो । प्रतिनिधि सभाको अर्काे बैठक यही चैत १८ गते दिउँसाे १ बजे बस्नेछ ।