अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई हटाउन सांसद अधिकारीको चुनौती

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

काठमाण्डु – नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउन चुनौती दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले प्रधानमन्त्रीले राजीनामा नदिने भन्दै अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका हुन् । उनले अविश्वासको प्रस्ताव ल्याउन नसक्नेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भन्दै प्रश्न गरे ।

‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।

बिजनेश नपाएपछि प्रतिनिधिसभा बैठक चैत्र १८ गतेसम्म स्थगित

बिजनेश नपाएपछि प्रतिनिधिसभा बैठक ८ दिनका लागि स्थगित भएको छ । विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनका लागि सरकारले बिजनेश दिन नसकेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक चैत्र १८ गते बुधवारसम्मका लागि स्थगित गरेका हुन् ।

मंगलवारका लागि प्रतिवेदन टेबल गर्ने सामान्य कार्यसूची थिए । बैठकको शून्य समयमा सांसदहरूले बैठकलाई बिजनेश दिन सरकारको ध्यानाकर्षण गराए ।
फागुन २३ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको मंगलवारसम्म ५ वटा बैठक बसेका छन् ।

काग्रेस सांसद गगन थापाले सरकारले संसदलाई बिजनेश नदिएकोमा आपत्ति जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन खोजेको आरोप सांसद थापाले लगाए । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले बिजनेश नदिएर संसदलाई गतिहीन बनाउन खोजेको आरोप लगाए ।