स्पष्टीकरण सोधिएपछि ओलीप्रति नेता नेपालको आक्रोश : हिम्मत छ पार्टीबाट निकाल्ने ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले आफूलाई पार्टीबाट निकाल्न अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । निराश भएका कार्यकर्तालाई भेला गरेर ऊर्जा भर्ने काम गरेकोमा धन्यवाद दिनुको साटो कारवाहीको धम्की दिइएको नेता नेपालले टिप्पणी गरे ।

मंगलवार काठमाडौंमा आफूपक्षीय विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरण सोधे पनि अभियान नरोक्ने बताएका हुन् । ‘अहिले केपी ओलीले हामीलाई अनेक आरोप लगाएर एउटा स्पष्टीकरण सोधेका छन । विपक्षसँग मिलेर सरकार गिराउने काम गर्नुहुन्छ, पुष्पकमल दाहालले बोलेको कुराको खण्डन गर्नुभएको छैन भनेर पत्र पठाइएको छ,’ नेपालले भने, ‘हिम्मत छ निकाल्ने ? निकाल्नुस् त सहेर बस्छौं हामी ?’

आफूहरू नलत्रेको दाबी गर्दै नेपालले जिल्ला–जिल्लामा भेला गरेर तरंग सिर्जना गर्ने बताए । नेता नेपालले जालझेल गरेर कानूनी रूपमा एमाले कब्जा गरे पनि सबै कमिटीको बहुमत आफूहरूसँग रहेको दाबी गरे ।

‘ओलीले जालझेल गरेर कानूनी रूपमा आफ्नो पक्षमा पारे बेग्लै कुरा हो, नत्र एमाले हामीसँग छ, वामदेवजी आउनुभयो भने केन्द्रीय कमिटीमा हाम्रा ९७ जना र ओलीका ९० मात्र हुन्छन्,’ नेपालले भने । नेता नेपालले युवा र विद्यार्थीको राष्ट्रिय भेलाबाट आफूहरूमा ऊर्जा भर्ने काम भएको बताए ।