कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन: देउवा

रामेछाप खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले पत्रकारहरुसँगको कुराकानीमा बोल्दै देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले तत्काल सरकारमा नजाने बताएका हुन् ।

‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन,’ उनले भने, ‘कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउँदैन । कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’ कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने उनको भनाई थियो ।

कैलालीको लम्‍कीमा गोली चल्यो, २ जना घाइते

धनगढी : बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले लम्की क्षेत्रमा तनाव बढेपछि स्थिति नियन्त्रणमा ल्याउन हवाई फायरिङ गरेको बताए ।

उनकाअनुसार सो क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोहलपुर पठाइएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

युवतीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्नुका साथै ढुङ्गामुडा प्रहार गरेका थिए ।

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।