केपि ओलिलाइ हटाउन खोज्दा आफै घर न घाटको भए – प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडौं, ९ चैत्र ।

काठमाडौं ।सत्ताधारी दल नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । कसैले सक्ने भए विधि पद्धतिबाट हटाए हुने तर आफूले राजीनामा नदिने चुनौती प्रधानमन्त्री ओलीले दिइरहेका बेला माओवादी केन्द्र र कांग्रेसले फेरि पनि नैतिकताका आधारमा राजीनामा दिन ओलीलाई आग्रह गरेका हुन् । संसद बैठकमा कांग्रेस सचेतक बालकृष्ण खाँणले संविधानमाथि प्रहार गर्ने प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

यसअघि संसद बैठक बस्नुपूर्व नैतिकताका आधारमा राजीनामा नदिए प्रधानमन्त्रीलाई गलहत्याएर निकाल्ने भाषण गर्नुभएकी माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । संसद विघटनपछिको लाज छोप्न दुई तिहाई ल्याउँछु भनेर ओलीले धाक देखाइरहेको उहाँले बताउनुभयो । एउटा शब्द चिप्लेका आधारमा र ७० करोड घुस खाएको टेप सार्वजनिक भएपछि नैतिकताको पाठ पढाएर मन्त्रीहरुलाई राजीनामा गर्न लगाउने प्रधानमन्त्री ओलीले आफूले पनि नैतिकता सिक्नुपर्ने उहाँले बताउनुभयो ।

केपी ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट बिदा गर्ने रणनीति सार्थक बन्ने नदेखिएपछि दलहरु अन्यौलमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको साधारण सदस्यबाट समेत निकालिएका ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अन्तिम कसरत भइरहँदा आफ्नै टाउका बज्र प्रहार भएको बताउन थाल्नुभएको छ ।

हुन त जसपा र माओवादी केन्द्र र नेपाली कांग्रेस एक भएर लागे ओली सरकार ढाल्न सम्भव छ । तर त्यसका लागि यी तीन दलहरुबीच सहमति जुटन सकेको छैन । प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि कांग्रेसले स्थिति परिपक्व बनिनसकेको प्रतिक्रिया दिएको छ । कांग्रेसलाई जसपा विभाजन भएर ओलीतर्फ लागे अविश्वासको प्रस्ताव फेल हुने डर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्न कांग्रेसले दौरासुरुवालमा आइरन गरिहाल्ने स्थिति बनिनसकेको बताउनुभयो ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउने रणनीति बुनिरहे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सत्तारुढ दल नेकपा एमालेले माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकार संविधान बमोजिक अघि बढ्ने बताइरहेको छ ।