म त अहिले निक्कै शक्तिशाली भएजस्तो लागेको छ : प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ चैत्र ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै ठूलो षड्यन्त्र भइरहेको बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तर्क्रियामा प्रचण्डले आफू प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको षड्यन्त्र बिरुद्धको लडाइमा रहेको बताए। पार्टीलाई रुपान्तरण गरेर अभियान चलाउन ओलीसँग एकता गरेको भए पनि उनले जालझेल गरेपछि उनीबिरुद्ध आफूले सबैभन्दा पहिले बिद्रोह गरेको बताए।

‘पहिलो बिद्रोह पनि प्रचण्डले नै गर्‍यो नि त। तपाईँ त्यसलाई साथ दिने कि नदिने? म तपाईँलाई प्रश्न गर्छ। अहिले संविधान मिच्ने जुन षड्यन्त्र भइरहेको छ, त्यसका बिरुद्ध आफ्नो आवाज सशक्त बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने।

४२ वर्षे उमेरदेखि आन्दोलन सुरु गरेकाले फेरि पनि आफू आन्दोलनमै रहेको उनको भनाई थियो। आन्दोलनबाट प्राप्त गरेका उपलब्धिलाई ध्वस्त गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले बताए।

‘षड्यन्त्रहरु धेरै छन्। मैले सबै भनिहालेको छैन। पार्लियामेन्टमा सहज बनाउने कुरालाई म नजरअन्दाज गर्न चाहन्न। तर, षड्यन्त्र ठूलो छ,’ उनले भने। उनले पुस ५ गतेको संसद विघटन पछि आफू जनताका पक्षमा लड्ने भएकाले शक्तिशाली भएको बताए।

‘उहाँले त हामीलाई सिध्याउन खोज्नुभएको हो। फेरि हामीलाई जनताका बिचमा लगेर फाल्दिनुभयो। आफूमा लागेको धुलो मैलो टक्टक्याएर जनताका ठाउँमा पुर्‍याइदिनु भयो। म त अहिले निकै शक्तिशाली भएको जस्तो लागेको छ, पुस ५ गते पछि त। फेरि जनताको पक्षमा लड्ने अवसर प्राप्त भएको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सेटिङ गरेर पार्टी फुटाएको उनको भनाई थियो।