पेट्रोलसहित ५ बस्तुको आयात घट्यो, कुनको कति ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ चैत्र ।

काठमाडौं – चालु आर्थिक वर्षको माघ महिना सम्ममा पाँच वस्तुको आयात घटेको छ । अर्थ मन्त्रालयको अर्थ बुलेटिनको माघ महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्कको अनुसार चालु आर्थिक वर्षको ७ महिनामा डिजेल, पेट्रोल, तयारी कपडा, एच.आर.सिट र एल पि ग्यासको आयात घटेको छ ।
जसमा चालु आर्थिक वर्ष माघ महिना सम्ममा ३९ अर्ब ७० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

गत वर्षको सोही अवधिमा ५८ अर्ब २२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष डिजेल आयात ३१.८ प्रतिशतले घटेको हो ।

त्यस्तै पेट्रोल २४.९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा १५ अर्ब ९६ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ भने गत वर्षको सोही अवधिमा २१ अर्ब २६ करोड रुपैयाँ बराबरको पेट्रोल निर्यात भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष तयारी कपडा १३.९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १७ अर्ब ३६ करोड रुपैयाँ बराबरको तयारी कपडा आयात भएको छ । गत वर्षको समीक्षा अवधिमा २० अर्ब १५ करोड रुपैयाँ बराबरको तयारी कपडा आयात भएको थियो ।

चालु आर्थिक वर्षको माघ महिना सम्ममा १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको एच आर सिट आयात भएको छ । गत वर्षको सोही अवधिमा १६ अर्ब ४१ करोड रुपैयाँ बराबरको एच आर सिट आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष ६.४ प्रतिशतले घटेको हो ।

साथै एल पि ग्यासको आयात ३.० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा १७ अर्ब ३६ करोड रुपैयाँ बराबरको एल पि ग्यास आयात भएको छ । तग वर्षको सोही अवधिमा १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको एल पि ग्यास आयात भएको अर्थ बुलेटिनको तथ्याङ्कले देखाएको छ ।