सरकारले दिएको उपचार खर्च यस कारण कांग्रेस नेता जोशीको परिवारले नलिने

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ चैत्र ।

काठमाडौं – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ उपचार खर्च लिन अस्वीकार गरेको छ। जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार जोशीको परिवारले सरकारले दिने रकम नलिने घोषणा गरेको हो। मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि सरकारले गत बिहीबार १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

‘सरकारले उपचार खर्च दिने निर्णय गरेको थियो। त्यसका लागि धन्यवाद। तर परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ नलिने घोषणा गरेको छ,’ पाण्डेले भने, ‘उहाँको परिवारले विपन्न वर्गको उपचारका लागि भनेर वीर अस्पतालमा १० लाख रूपैयाँको कोष खडा गरेको छ। यस्तो अवस्थामा सरकारले दिएको रकम लिन शोभनीय देखिएन भन्ने उहाँको भनाइ छ।’

पाण्डेले जोशीको स्वास्थ्य अवस्था जटिल रहेको बताए। ‘चिकित्सकहरूले उपचार हुँदैछ ठिक हुन्छ, भन्नुभएको छ। तर, अहिलेसम्म क्लियर कुरा गर्नु भएको छैन,’ उनले भने, ‘अहिले उपचारका लागि बाहिर लाने अवस्था पनि छैन। बीचमा हामीले एकपटक लैजाने तयारी गरेका थियौं। तर, अस्पतालले अनुमति दिएन।’

गैंडाको खागसहित एक जना पक्राउ

काठमाडौं । बाँकेमा गैंडाको खागसहित एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-११ चौराहबाट २ थान गैंडाको खाग सहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-२ बस्ने ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश सिंजाली रहेका छन् । शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खाग फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।