एमालेमा यसरी गरिँदैछ पार्टी फुटाउने कसरत

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ चैत ।

नेकपा अस्तित्वमा छँदै पार्टी विभाजनको अभ्यास भइरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवाको भेलाले राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा वचनबहादुर सिंहलाई चयन गरेको थियो ।

नेकपा नाम विवादमा सर्वाेच्च अदालतले गरेको फैसलापछि ब्युतिएको नेकपा एमालेमा सिंह पक्षधर युवाको बलियो धार छ । यो धारलाई बेवास्ता गर्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर युवाले आज शनिबार छुट्टै राष्ट्रिय भेला गर्दैछन्, जसबाट नयाँ नेतृत्व चयन गर्ने तयारी समेत छ ।

यसअघि खनाल–नेपाल पक्षले गरेको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले नयाँ नेतृत्व चयन गरेको थिएन । तर युवा संघमा भने एकपक्षीय नेतृत्व चयन नै गरेर युवापंक्ति फुटाउने अभ्यासमा लागेको छ ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खनाल–नेपाल पक्षीय युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले युवाको भेला हुन लागेको जानकारी दिए ।

शाहीले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ भेलालाई छुट्टै मान्यता दिन पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने कार्यक्रम छ ।

यसअघि खनाल–नेपाल पक्षधर भेलामा ओली पक्षीय एमाले सहभागी भएको थिएन भने ओली पक्षीय एमालेको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठकमा खनाल–नेपाल पक्ष सहभागी भइरहेको छैन । शनिबारका लागि बोलाइएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा समेत सहभागी नहुने खनाल–नेपाल पक्षले स्पष्ट पारिसकेको छ । शुक्रबार साँझ बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठकले दुबै बैठकमा उपस्थित नहुने निर्णय गरेको छ ।

‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ खनाल–नेपाल पक्षको निष्कर्ष छ, ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले शनिबारका लागि प्रचारित बैठकमा सहभागी नहुने ।’

यसअघि चैत ५ गते बसेको नेकपा एमाले संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको थियो । जसमा खनाल र नेपाललाई समेत सदस्य बनाइएको छ । ओली पक्षीय बहुमत रहेको बोर्डले पार्टी ह्वीप नमान्ने सांसदलाई कारवाही गर्नसक्ने व्यवस्था हुन्छ । यसरी मनपरी ढंगले हिँड्ने एमाले सांसदलाई कारवाही गर्ने कानूनी परिपक्वता ओली पक्षले तयार गरिरहेको छ ।

फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तारका निर्णय खारेज हुनुपर्ने अडान खनाल–नेपाल पक्षले राखेको छ भने यी विषयमा केन्द्रीय कमिटीमा छलफल हुने भएकाले बैठकमा सहभागी हुन ओली पक्षले आह्वान गरेको छ । तर खनाल–नेपाल पक्ष २८ गतेका निर्णय खारेज नभई कुनै पनि बैठकमा सहभागी नहुने अडानमा छ । यी दुवै अवस्थाबीच नेकपा एमालेभित्र भइरहेका अभ्यास, गतिविधि र कसरतले पार्टीलाई फुटतिर लगिरहेको देखिन्छ ।

बुधबार राति एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले खनाल–नेपाल पक्षलाई भने, ‘एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा त्योभन्दा अलग्गै गतिविधि गरे राम्रो होला नि ! एमाले भएर गतिविधि गर्न पाइँदैन । छुट्टिन मन छ भने मसँग निवेदन हाले भयो नि ! कानून त्यस्तो ल्याइदेऊ, सजिलो बनाइदेऊ भनेर । हामी अलग हुन्छौं भने भो नि त !’

सर्वाेच्च अदालतको फैसलापछि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट बिदा भएर एमाले केन्द्रीय कमिटी बैठकको प्रतिक्षामा रहेको खनाल–नेपाल पक्षलाई झस्काउने गरी फागुन २८ गते बालुवाटारमा केन्द्रीय कमिटीको विशेष बैठक बस्यो । त्यो बैठकका सबै निर्णय खारेज भएर शून्य अवस्थामा जानुपर्ने माग नेपाल पक्षले राख्दै आएको छ ।

फागुन २८ गते सबै केन्द्रीय कमिटी सदस्यलाई जानकारी नै नदिई बैठक राखिएको, विधान विपरीत २३ जना केन्द्रीय कमिटी सदस्य मनोनित गरिएको र एकलौटी रुपमा प्रदेश र विभागीय इन्चार्जको जिम्मेवारी परिवर्तन गरिएको भन्दै खनाल–नेपाल पक्ष असन्तुष्ट रहेको छ ।

बैठकले रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभू साह, टंक आङ्बुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलम्पाकी, कमल चौलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधारी लाल, चन्द्रबहादुर खड्का, झपट बोहोरा, दावा लामा, गौरीशंकर चौधरी, धर्मराज रेग्मी, नवीन रोक्का, दिनेश पन्थी र डम्मर बिष्टलाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । प्रदेश इन्चार्जको जिम्मेवारीमा १ नम्बर प्रदेशमा सुवास नेम्वाङ, २ नम्बरमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको थियो ।

ओली पक्षले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट खनाल–नेपाल पक्षले गत शनिबार छुट्टै बैठक राखेर ‘काउन्टर’ निर्णय लियो । शनिबारको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावललाई तोक्यो । यसरी एमालेभित्र विभाजनको स्पष्ट रेखा कोरिँदै गएको छ ।

यसबीच बिग्रिएको वातावरण सुधार्न दुबै पक्षबीच सामूहिक छलफल भयो । गत सोमबार भएको बैठकमा ओली पक्षबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सहभागी भए । तर यो छलफलले कुनै सहमति जुटाउन सकेन । पार्टी विभाजनका गतिविधि र अभ्यास निरन्तर अगाडि बढिरहेका छन् ।