ग्यासको मूल्य १४ हजारबाट घटेर ८ हजारमा झर्‍यो

रामेछाप खबर संवाददाता

हुम्ला,६ चैत

सिमकोट– हुम्लाको दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खाना पकाउने ग्यासको मूल्य घटेको छ। यसअघि १४ हजार रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरको मूल्य ६ हजार रुपैयाँ घटेर ८ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन्।

यसअघि हुम्लाको सदरमुकाम सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिण्डर १४ हजार रुपैयाँ थियो। मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेहरुको संख्यामा पनि बृद्धि भएको छ।

सर्केगार्ड गाउँपालिकाको बालुकुनासम्म र चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङसम्म सडक सञ्चालनमा आएपछि ग्यासको ढुवानीको मूल्य घटेको ब्यापारी कण्ठे ऐडीले बताए।

अहिले एकदिनमै खच्चडमा सिमकोट पुग्ने भएपछि ढुवानी खर्च घटेको हो। यसअघि ठूला व्यापारी, कार्यालय प्रमुख र निर्माण व्यवसायीले मात्र महँगो ग्यास प्रयोग गर्दै आएका थिए। अहिले अरुले पनि ग्यासको प्रयोग गर्न थालेका छन्। ग्यासका सिलिण्डर खाली भएपछि भने हवाईजहाजबाट सुर्खेत पठाउने गरिएको छ। बजारमा अधिकांश होटेल व्यवसायीले ग्यासको प्रयोग गर्न थालेका छन्।