ओली किन वार्तामा आउनुभयो ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको हिजोसम्मका अभिव्यक्तिहरु सुन्दा उहाँ बरिष्ठ नेता माधव नेपाल पक्षलाई पेलेरै जाने मनस्थितिमा रहेको संकेत मिल्थ्यो । २०७१ सालमा सम्पन्न एमालेको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका ओलीले आफूसंग झिनो मतले पराजित नेता नेपाललाई साइजमा राख्न त्यतिबेलैदेखि पेल्न थालेको बताइन्छ । पछि माओवादीसंग एकता भई नेकपा हुँदा पनि आफूहरुलाई ओलीले कर्नरमा पारेको नेपाल पक्षको गुनासो हो । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि ओलीको पेलाई उत्कर्षमा पुगेको नेपाल पक्षको भनाइ छ ।

“दुई दिन अघिमात्र माधव पक्षलाई पेलेर जाने रणनीतिमा देखिनुभएका ओली एकाएक कसरी परिवर्तन हुनुभयो होला ?”

नेपाल पक्षले सर्वोच्चको फैसला त्रुटीपूर्ण भएपनि त्यसलाई कार्यान्वयन गर्ने र पुनर्स्थापित एमालेलाई एकतावद्ध बनाएर जाने बताएको थियो । बैठक कुरेर बसेको नेपाल पक्ष त्यतिबेला झल्याँस्स भयो,जतिबेला ओलीले बालुवाटारबाट कमिटी पुनर्गठन गर्दै सबैको जिम्मेवारी खोसिदिनुभयो । बालुवाटारको बैठकले केन्द्रीय कमिटी पुनर्गठन, जिम्मेवारी हेरफेर,महाधिवेशनको मिति तोक्ने जस्ता महत्वपूर्ण निर्णय गरेको थियो । सोही बैठकले माओवादीबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित पनि गरेको थियो । नेपाल पक्षले भने उक्त निर्णयलाई विधान विपरित भन्दै अवज्ञा गर्ने बताएको छ । यो निर्णयपछि आक्रोशित बनेको नेपाल पक्षले ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर जिम्मेवारी दिएको छ ।

दुई पक्षीय लडाई वारपारकै अवस्थामा पुगेको भनिएका बेला आज एकाएक सिन परिवर्तन भएको छ । नेपाल पक्षलाई बेवास्ता गरेर जाने ओलीको रणनीति र ओलीबिरुद्ध निर्णायक संघर्ष गर्ने नेपाल पक्षको तयारीका बीच आज दुई पक्षबीच वार्ता भएको हो । यद्यपि वार्तामा ठोस सहमति नभएको नेताहरुले बताएका छन् । वार्तामा नेपाल पक्षले फागुन २८ को निर्णय सच्याउनुपर्ने अडान राखेको थियो भने ओली पक्षले नेपाल समूहले बोलाएको छुट्टै भेला रोक्न आग्रह गरेको थियो ।

नेपाल पक्षले फागुन ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ । पदाधिकारी र स्थायी कमिटीको बहुमतमा रहेको यो पक्ष ओलीसंग नझुक्ने बरु ओलीलाई नै कारवाही गर्नेसम्मको तयारीमा जुटेको बताइन्छ । नेपाल पक्षले २८ फागुनको निर्णय विधान विपरित रहेकाले त्यसलाई वैधता नदिन माग गर्दै हिजो निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । हिजो नै एमालेका बहुमत (११) जना स्थायी कमिटी सदस्यले संयुक्त रुपमा विज्ञप्ति निकालेर ओलीबिरुद्ध संघर्ष गर्ने बताइसकेका छन् । पार्टीमा नेपाल पक्षको बलियो उपस्थिति,नझुक्ने बरु ‘काउन्टर’ दिने उनीहरुको तयारी बुझेपछि पेलेर जाने प्रधानमन्त्री ओलीको रणनीति फेरिएको अनुमान गरिएको छ ।

“बाहिर कार्यकर्ता हौस्याउन के-के बोल्नुहुन्छ । तर सत्ताको जोड-घटाउमा अरुभन्दा अगाडि नै हुनुहुन्छ । माधव पक्ष बिच्कियो भने या उनीहरुले छुट्टै पार्टी बनाए भने अहिलेको सरकार त ढल्छ नै,अरु कयौँ वर्ष फेरि एमाले सत्ताबाट बाहिरै रहनुपर्ने हुन्छ । यो हिसाब उहाँले नगरेको होला र ?”

यता, ओलीले चैत्र ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकको वैधताबारे पनि प्रश्न उठेको छ । एउटा पक्षलाई निषेध गरेर बोलाइएको बैठक पार्टी फुटको प्रस्थान विन्दु हुनसक्ने भन्दै ओली पक्षकै कतिपय नेताहरु चिन्तित रहेको बताइन्छ । यद्यपि ओलीले भने बैठकमा नआए कारवाही गर्ने सार्वजनिक चेतावनी दिनुभएको छ । अस्ति एउटा कार्यक्रममा सार्वजनिक रुपमै बैठकमा आउन निम्ता गर्नुभएका ओलीले नआए विधानअनुसार हुँदै जाने भन्दै कारवाहीको चेतावनी दिनुभएको हो । दुई दिन अघिमात्र माधव पक्षलाई पेलेर जाने रणनीतिमा देखिनुभएका ओली किन एकाएक कसरी परिवर्तन हुनुभयो होला ? बालुवाटार निकट स्रोतका अनुसार आजको छलफल दोस्रो तहका नेताहरुको बारम्बारको प्रयासको नतिजा हो । कुनै पनि हालतमा माधव पक्षलाई पेलेर जाने रणनीतिका साथ अघि बढ्नुभएका ओलीलाई दोस्रो तहका नेताहरुले त्यसो गर्दा आफैंलाई प्रतुत्पादक हुने बताएपछि छलफलबाटै अघि बढ्न ओली राजी भएको बताइन्छ ।

कतिपयले भने पार्टीमा झन्डै आफ्नै हाराहारीको शक्तिमा रहेको माधव पक्षलाई पेलेर जाँदा सोचेभन्दा बढी कम्जोर हुने विश्लेषण गरेर ओली छलफलका लागि सकारात्मक बनेको बताएका छन् । ‘अहिले सत्तामा हुँदा उहाँ (ओली) लाई सबै मै हुँ जस्तो लागेको होला,तर व्यवस्थित संगठन र एकताबद्ध कार्यकर्ताको पंक्ति भएकै कारण एमाले आजको अवस्थामा छ,यो सच्चाइ कसैले काट्न सक्दैन । उहाँले पनि यो तथ्यलाई बोध गर्नुभएको हो भने सकारात्मक कुरा हो’, एमालेका एकजना नेताले भने ।

ओलीले बाहिर भाषण गर्दा जे भने पनि पार्टीमा माधव समूहको शक्तिलाई नजरअन्दाज गर्न नसक्ने ती नेताको भनाइ छ । ‘बाहिर बोल्दा कार्यकर्ता हौस्याउन उहाँले के-के बोल्नुहुन्छ । तर सत्ताको जोड-घटाउमा उहाँ अरुभन्दा अगाडि नै हुनुहुन्छ । माधव पक्ष बिच्कियो भने या उनीहरुले छुट्टै पार्टी बनाए भने अहिलेको सरकार त ढल्छ नै, अरु कयौँ वर्ष फेरि एमाले सत्ताबाट बाहिरै रहनुपर्ने हुन्छ । यो हिसाब उहाँले नगरेको होला र ?’, प्रश्न गर्दै उनले भने ।

यद्यपि आजको छलफलमा पनि ओली टसको मस नभएको बताइन्छ । नेताहरुले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएपनि फागुन २८ को निर्णय सच्चिने सम्भावना निकै कम देखिन्छ । किनभने आफ्नो निर्णयबाट हत्तपत्त फर्किने ओलीको स्वभाव होइन । उपाध्यक्ष भीम रावलले त्यसको संकेत गर्नुभएको छ । आफूहरुले २८ गते एकपक्षीय रुपमा गरिएको निर्णय सच्याउन माग गरे पनि ओलीले जवाफ नदिएको रावलले बताउनुभएको छ ।