प्रचण्डलाई प्रधानमन्त्रीको फोन, सूर्य थापा भन्छन् : हो, जुगल भन्छन् : होइन

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतवार र सोमबार दुई पटक फोन गरेको समाचार एकाएक फैलियो। धुम्बाराहीमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब २ घण्टा वार्ता गरेका ओलीले सोमबार साँझ प्रचण्डलाई फोन गरेको खुलेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले प्रचण्डलाई टेलिफोन गरेर संवादका लागि बोलाएका हुन्।

‘हो उहाँ (प्रधानमन्त्री) ले प्रचण्डलाई आज फोन गरेर संवाद गरौँ भन्नुभएको हो’, थापाले फरकधारसँग भने, ‘पार्टी र विचार अलग भए पनि संवादहीनता भइरहनु राम्रो होइन। दलहरुबीच लामो समय संवाद नहुने अवस्था राजनीतिक रुपमा ठीक होइन। त्यहीकारण प्रधानमन्त्रीले प्रचण्डलाई फोन गर्नु भएको हो।’

थापाले माधव नेपालसँगको वार्तालाई पनि त्यसकै एक कडीका रुपमा व्याख्या गरे। ‘प्रधानमन्त्रीले आफ्नै दलभित्र र बाहिरका सबै शक्तिसँग संवाद अघि बढाउनु भएको छ’, थापाले भने, ‘त्यो कसैसँग ‘फेस टु फेस’ भएको छ, कसैसँग टेलिफोनमा भइरहेको छ।’उता यो टेलिफोन संवादलाई प्रचण्डको सचिवालयले भने अस्वीकार गरेको छ। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेको समाचारलाई ‘बकवास’को संज्ञा दिए।

‘त्यस्तो कुनै टेलिफोन संवाद भएको छैन, अहिले अध्यक्ष कमरेड पार्टीकै काममा जुटिरहनु भएको छ,’ सापकोटाले फरकधारसँग भने, ‘हिजो आज दुवै दिन अध्यक्ष कमरेडसँग प्रधानमन्त्रीले टेलिफोन संवाद गरेको कुरा सचिवालयको जानकारीमा छैन।’

नारायणकाजीले भने : सरी, आई डन्ट नो !

यसबारेमा फरकधारले नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि सोधेको छ। उनले पनि प्रचण्डलाई ओलीले फोन गरेको कुरा नकार्दै भने, ‘सरी, आई डन्ट नो!’

दोस्रो पटक फोन

वरिष्ठ नेता नेपालसँग धुम्बाराहीमा ‘फेस टु फेस’ वार्ता गरेका ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता दोस्रो पटक प्रचण्डसँग टेलिफोन सम्वाद गरेका हुन्। आइतवार पनि फोन भएको कुरालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले नकारे।

यसअघि ओलीले सीता दाहाल बिरामी भएका बेला गत पुसमै प्रचण्डलाई फोन गरेका थिए। त्यसबेला नेकपा फुटतर्फ गएर दुईवटा समूहमा गतिविधि भइरहँदा ओलीले सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डलाई फोन गरेका थिए।

यस फोन वार्तालाई प्रचण्डको सचिवालय र माओवादी केन्द्रका प्रवक्ताले अस्वीकार गरे पनि एकजना नेताले भने स्वीकारेका छन्। ती नेताले ओलीले प्रचण्डलाई आजै भेटौँ भनेर फोन गरेको बताए। तर प्रचण्डले पार्टी बैठक चलिरहेको भन्दै भेट्न अस्वीकार गरेको उनको दाबी थियो।