बसमा बेहोस भएकी राईको उपचारको क्रममा मृ’त्यु

रामेछाप खबर संवाददाता

पोखरा, २ चैत ।

बसमा यात्राका क्रममा अचानक बेहोस भएकी संखुवासभाकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । काँकडभिट्टाबाट पोखरा आउँदै गरेको ग १ ख ९३६८ नं.को बसमा यात्राका क्रममा बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संखुवासभा सिद्वपोखरीकी जमुना राईको उपचारका क्रममा मृत्यु भएको हो । तनहुँको दमौली आइपुगेपछि बेहोस भएकी राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ४२ वर्षीय राई पोखरा–५ पर्स्याङमा ज्याला मजदूरी गर्न पोखरा आउँदै थिइन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला नेपाल पक्षले नरोक्ने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल, झलनाथ खनाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी कार्यालय धुम्बाराहीमा सोमबार छलफल पछि बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी विभाजनका रुपमा अथ्र्याइएको उक्त भेला रोक्न प्रधानमन्त्री ओलीले माग गर्दै आएका छन्। तर, ओलीले पदाधिकारीको पद खारेज गर्नेनिर्णय फिर्ता लिन नमानेपछि नेपाल पक्ष भेला नरोक्ने निर्णयमा पुगेको छ।

पार्टी अध्यक्ष ओलीले अल्मल्याउन मात्रै छलफलको कार्ड फ्याँकेको नेपाल पक्षको ठहर छ।

‘केपीले हामीलाई अल्मल्याउनको लागि वार्ता, छलफल र सहमतिको कार्ड फ्याँकेको हो,’ आजको बैठकमा नेता नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, ‘म अध्यक्ष हुँ, त्यसैले मैले जिम्मेवारी पुरा गरेँ। तर, यिनीहरु मानेनन् भन्ने एकखालको सन्देश दिन गरेको हो। हामी यसमा अलमलिदैनौं।’