एमालेमा मडारिएको बादल फाट्ने संकेत, ओली र नेपालले तोडे संवादहिनता

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

काठमाडौं । विभाजनतर्फ अघि बढेको सत्तारुढ नेकपा एमाले आन्तरिक छलफलको सुरुवात प्रवेश गरेको छ । विशेषगरी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावले एमाले विभाजनतर्फ उन्मुख भएको छ ।

तर, यही बेला चार महिनादेखिको संवादहिनता तोड्दै अध्यक्ष ओली र नेपाल समूहबीच पार्टी मुख्यालयमा धुम्बाराहीमा भेटवार्ता भएको छ । सो भेटवार्तामा अध्यक्ष ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् भने अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

अध्यक्ष ओली र नेता नेपालबीच चार महिनादेखि भेटवार्ता भएको थिएन । गत कात्तिक २५ पछि यता उनीहरुबीच संवादहिनताको अवस्था थियो । तर, यसलाई सोमबार दुई समूह छलफलमा बसेर तोडेका छन् । एकअर्काविरुद्ध खरो टिप्पणीमा उत्रिएका उनीहरुबीचको टकरावले एमालेमात्रै नभएर मुलुककै राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ । यस अवस्थामा उनीहरु छलफलमा बसेर नयाँ सरकार गठनमा भइरहेको राजनीतिक भेटवार्तामा महत्वपूर्ण अर्थ राख्ने नेताहरुले बताएका छन् ।

प्रचण्डलाई काउन्टर दिन ओली र माधव नेपालको भेट प्रचण्डलाई काउन्टर दिन ओली र माधव नेपालको भेट

अहिले ओली सरकारको निरन्तरता र विकल्प दुई कित्ताबाट राजनीतिक गतिविधि भइरहेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सत्ता रक्षाका लागि जनता समाजवादी पार्टीसँगमात्रै छलफल गरिरहेका छन् । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेकै नेपाल–खनाल समूह, कांग्रेस र जसपासँग छलफल गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाले ठोस निर्णय लिइनसक्दा प्रचण्ड सकसमा परेका छन् । प्रचण्डलाई सत्तारुढ एमालेका नेपाल–खनाल समूहको समर्थन देखिँदै आएका बेला सोमबार नेता नेपालले आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । kpoli 2.jpg

एमालेमा विद्रोह गरेर आउने र सरकार गठनमा नेता नेपालले सघाउने अपेक्षा गरेका प्रचण्डलाई योजना विफल पार्ने गरी प्रधानमन्त्री ओलीले नेता नेपालसँग भेट गरेका हुन् । नेता नेपालकै इच्छाअनुसार प्रधानमन्त्री ओली पार्टी मुख्यालय धुम्बाराहीमा पुगेर छलफल गरेका हुन् ।

ओलीले बालुवाटार बोलाए पनि नगएका नेता नेपालकै चाहनाअनुसार पार्टी कार्यालयमा ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । एमालेको एकता र ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने नेपाल–खनाल समूहले बताउँदै आएका थिए । तर, गत शुक्रबार अध्यक्ष ओलीले पार्टीको महाधिवेशनको मिति तोक्नेदेखि महत्वपूर्ण निर्णय गरेपछि नेपाल–खनाल समूह रुष्ट बनेका छन् । यही बेला ओलीले नेता नेपाललाई भेटेका हुन् ।

मंगलबार बालुवाटारमा ओलीले चियापानको आयोजनासमेत गरेका छन् । सो चियापान कार्यक्रममा नेपाल–खनाल समूहलाई आमन्त्रण गरिएको छ । चियापानमा आउन सजिलो बनाउन पनि ओलीले सोमबार पार्टी कार्यालयमा नेता नेपालसँग भेटेका हुन् ।