जब मन्त्रीले सचिवलाई कारबाहीको माग गर्दै पत्र लेखे…

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गएको फागुन २३ गते मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखे । मन्त्रालयका वार्षिक कार्यक्रम अघि नबढाएको, चालु आर्थिक वर्षको अन्तिमतिर आउँदा पनि काममा सिन्को समेत नभाँचेको भन्दै कारबाही तथा सरुवा गराउन माग गरेका थिए । पत्र फागुनमा लेखिए पनि चैत्र २ गते मात्रै सार्वजनिक भएको छ ।

‘२०७७ साउन १६ गतेबाट मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्त्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालु आर्थिक वर्ष ०७७/७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य गरेनन्’, मन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’

सामाजिक विकास मन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गर्‍यो । फलस्वरुप संघीय मामिला मन्त्रालयले आइतबार पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ ।

सचिव पौड्याल कर्णाली प्रदेशमा हुँदा सधैं विवादित बन्ने गरेका थिए । केही दिनअघि बादी समुदायको आन्दोलन र प्रदेश सरकारले गरिरहेको पहलका विषयमा अनुगमनका लागि आएको राष्ट्रिय मानवअधिकार आयोगको टोलीमाथि पौड्यालले दुर्व्यवहार गरेका थिए । पौड्यालले दुर्व्यवहार गरेपछि आयोगको टोलीले तीन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणका विषयमा कुनै पनि जानकारी दिएका थिएनन् । त्यसपछि आयोगले थप स्पष्टीकरणका लागि तयारी गरिरहेको छ ।

कर्णालीमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च ३.२३ प्रतिशत मात्रै छ । सामाजिक विकास मन्त्रालयसँग रहेको पुँजीगत तर्फको १ खर्ब ४२ करोड २० लाख १४ हजारमध्ये ४ करोड ५९ लाख ३० हजार १५१ रुपैयाँ मात्रै खर्च भएको छ । स्वास्थ्य, शिक्षाका पूर्वाधार निर्माणको लागि छुट्याइएको बजेट सचिवकै कारण कार्यान्वयन हुन सकेको छैन ।