अध्यक्ष ओली र माधव नेपालवीचका चर्काचर्की

रामेछाप खबर संवाददाता

काठमाडौं, २ चैत्र ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको आदेश पालना गर्दा पार्टीमा कुनै व्यक्ति वा पदाधिकारीको एकल हुकुम चल्ने भन्ने प्रश्न नै आउँदैन भन्नुभएको छ । उहाँले आजको धुम्बाराही वार्तामा उक्त कुरा राख्नुभएको हो । उहाँका अनुसार,फागुन २३ गते सर्वोच्चको आदेशले केन्द्रीय समितिदेखि तल्लो तहसम्मलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको मात्र हो ।

नेपालले यति भन्नासाथ प्रधानमन्त्रीले अस्वीकार गर्दै भन्नुभयो-त्यो हुँदैन,२८ गते पार्टीले निर्णय लिइसक्यो,चित्त बुझ्दैन भने ७ गतेको बैठकमा आएर आफ्ना कुरा राख्न्नुहोस् । यसबाट ओलीको दम्भ नहटेको र अझै पेलेर जाने मनस्थितिमा रहेको सहभागी एकजना नेताको बुझाई छ ।

प्रधानमन्त्रीको लिँडेढिपी सुनेपछि माधव पक्षले पनि ‘त्यसोभए हुँदैन, संवाद गर्नुभएकोमा धन्यवाद, संवादलाई भने जारी राखौंला, अहिलेलाई कुरा मिलेन’ भनेर आफ्नो निश्कर्ष पार्टी अध्यक्षलाई सुनाएको थियो ।

धुम्बाराहीमा भएको आजको वार्ताबारे नेपाल पक्षले आफ्ना स्थायी समिति सदस्य र केन्द्रीय समितिका हाल काठमाडौंमा उपलब्ध सदस्यहरुलाई अहिले अर्याल होटलमा जानकारी गराउँदै छ । आजको वार्ताबारे नेपाल निकट एकजना नेताले भनेका छन् ‘प्रधानमन्त्री निकै चाम्रो देखिनुभएको छ ।’

आजको वार्ता र संवाद ओली पक्षबाट विष्णु पौडेलको पहलमा भएको बताइन्छ । पौडेलले बैठकमा तुलनात्मक रुपमा सकारात्मक धारणा राख्नुभएको बताइन्छ । उहाँले भोलि ३ गते बालुवाटारको चियापान कार्यक्रम रोकौं र माधव खेमाको ४ र ५ गतेको राष्ट्रिय भेला पनि रोकौं अनि ७ गतेको केन्द्रीय समिति बैठक आयोजना गरौं भन्नुभएको थियो ।

नेपाल पक्षले भने बेमौसममा राखिएको चियापान कार्यक्रम अर्को पक्षलाई काउण्टर दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र समूहले अपनाएको एउटा फण्डा मात्र हो भनेको छ । आफैँ अवैधानिक कार्य गर्दै जाने अनि त्यसलाई नै वैधानिकता दिन नयाँनयाँ रणनीति अपनाउने प्रधानमन्त्री ओलीको शैली पार्टीभित्र सबैभन्दा ठूलो समस्या रहेको माधव खेमाको ठम्याइ छ ।